दुईकरोड ३५ लाखमा निर्मित स्वास्थ्य चौकी भवनहरु नेरेसोद्वारा हस्तान्तरण

966
views

काभ्रे, ११, चैत । भूकम्पले स्वास्थ्य चौकी भवन भत्केपछि काभ्रे जिल्लामा विभिन्न संस्थाहरुको सहयोगमा निर्माणकार्यले गति लिन थालेको छ । काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, पनौती र बनेपा नगरपालिकाहरुमा रेडक्रसमार्फत नवनिर्मित कर्मचारी आवास गृह सहित ३ वटा स्वास्थ्य चौकी प्रिफ्याब भवन र स्वास्थ्य उपकरणहरु स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको रोहबरमा स्थानीय नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेरेसोका अध्यक्ष संजीव थापाले धुलिखेल नगरपालिका वडा नं १ को रबीओपी स्वास्थ्य चौकी, पनौती नगरपालिका वडा नं १ को रयाले स्वास्थ्य चौकी र बनेपा नगरपालिका १२ को महेन्द्रज्योति स्वास्थ्य चौकी भवनको प्राङ्गणमा छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । हस्तान्तरण गरिएको स्वास्थ्य चौकीहरुको निर्माण तथा उपकरणको लागत करिव २ करोड ३५ लाख रहेको नेरेसो भुकम्प प्रतिकार्य प्रमुख उमेश ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा महेन्द्रज्योती भवन निर्माणको लागि एक रोपनी वढी जग्गा दाता जगन्नाथ केसी र पदम केसीलाई सम्मान गरिएको थियो । धुलिखेलको रबीओपी स्वास्थ्य चौकी भवन उपमेयर बिमला शर्मालाई, रयाले स्वास्थ्य चौकी भवन पनौती नगरप्रमुख भीम न्यौपाने र महेन्द्र ज्योति स्वास्थ्य चौकी भवन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नर्सिङ बादेलाई भवनको चावी र हस्तान्तरण प्रमाणपत्र प्रदान गरिएको हो ।

३७ वटा भवन निर्माणधीन रहेकोमा १६ वटा भवनहरु निर्माण सम्पन्न भैसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

नेपालका विपद् र संकटको अवस्थामा नेरेसो सदैव अग्र पंक्तिमा रही मानवीय सेवा गर्दै आएको बताउँदै नेरेसो अध्यक्ष थापाले भन्नुभयो कोरियन रेडक्रसको आर्थिक सहयोगबाट यी भवनहरु बनेका हुन र अरु ९ वटा भवनहरु पनि काभ्रेमा छिटै सम्पन्न हुनेछन् ।

स्वास्थ्य चौकी भत्केपछि प्रावि स्कूलको एउटा कोठाबाट सेवा दिन गाह्रो भैरहेको र कतिपय महिलाहरुलाई परिवार नियोजन तथा हिँसाबारे गोप्य काउन्सिलिङ गर्न चौरको कुनामा जानुपर्ने अहिलेको अवस्थामा नयाँ भवनबाट काम गर्न सहजहुने रविओपीका अनमी सम्झना आचार्यले विश्वास व्यक्त गर्नुभयो ।