कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध

744
views

सुर्खेत, ११ चैत । कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ । कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

‘सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिवन्ध लगाइएको हो’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कर्मचारी फेसबुकमा भन्दा जनताको काममा व्यस्त हुनुपर्ने भन्दै विस्तारै प्रदेशभरी यसलाई कार्यान्वयन गर्ने बताए । उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरु प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरुमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए ।

‘फेसबुक चलाउने समय कर्मचारीहरुले जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने विषयमा छलफल गरेका थिए । सुर्खेतमा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्डलिङ्क, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् ।

वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रुपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ । पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरुमा विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने छ ।