काठमाण्डौ, १२, चैत । प्रहरी संगठनको नेतृत्वका लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच तिब्र प्रतिस्पर्धाको स्थिति देखिएको छ । डीआईजीहरु सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेलकाबीच प्रतिस्पर्धा रहेको हो ।
बढुवाको लागि कार्यसम्पादन मूल्याङ्कन र बरियता क्रमलाई आधार मान्दा पनि प्रतिस्पर्धामा देखिएका डिआइजीहरु नेपाल प्रहरीमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् ।
एकैदिन सेवा प्रवेश गर्नेहरुलाई कनिष्ठ र बरिष्ठ भनि छुट्याउन नमिल्ने तर्क एकाथरीको छ भने रोलक्रममा अघि रहेकाहरुले रोलक्रमकै आधारमा बरियता निश्चित हुने दावी गर्दै आएका छन् ।
धेरै अघिदेखि नै भावी आइजीपीका रुपमा सर्वेन्द्र खनाल र रमेश खरेलको नाम चर्चामा रहँदै आएको भएपनि विगत २ बर्षदेखि पुष्कर कार्कीको उपस्थितीलाई निकै बलवान मानिएको छ ।
आइजीपी कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेसम्म कुनै संकेत दिएका छैनन् ।
हाल आइजीपी रहेका प्रकाश अर्याल रोलक्रममा पछि भएपनि कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा भएका हुन् । प्रचण्डको प्राथमिकतामा सर्वेन्द्र खनाल परको बुझिएपनि महान्यायाधिवक्ता अग्नि खरेललगायत प्रधानमन्त्री ओलीवरिपरीले खरेललाई आईजीपी बनाउन सुझाव दिएको बताइन्छ ।
रोलक्रममा पहिले खनाल, दोस्रोमा खरेल र तेस्रोमा कार्की रहेका छन् । उनीहरु तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए । नेपाल प्रहरीका हालका महानिरीक्षक अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ । उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजीपीका लागि दौडधुप शुरु भएको हो ।