ब्रम्हाण्ड संरचनासम्बन्धी नयाँ समीकरण

1089
views

काठमाण्डौ, १२, चैत । नेपाली वैज्ञानिकले ब्रम्हाण्ड संरचनाको व्याख्या र मापन गर्न नयाँ समीकरणको अनुसन्धान गरेका छन् । बीपी कोइराला मेमोरियल प्लानेटोरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका सहकार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यस्तो समीकरणको अनुसन्धान गर्नुभएको छ ।
अन्तरिक्ष समयको मेट्रिक हेन्सरमा नै आइन्सटाइनको समीकरणको हल छ । यी मेट्रिक हेन्सरले अन्तरिक्ष कालको संरचनालाई व्याख्या गर्न सक्दछ । भौतिकशास्त्रमा ब्रम्हाण्ड संरचनाको व्याख्या र मापन गर्न आइन्सटाइनले प्रतिपादन गरेको यिनै समीकरणलाई प्रयोग गर्ने गरिएको छ । आइन्सटाइनले प्रतिपादन गरेको समीकरण निकै जटिल र कठिन छ । डा. शर्माले न्यूमेन र पेनरोजले प्रतिपादन गरेको सिद्धान्तको आधारमा रही नयाँ समीकरण तयार गर्नुभएको छ । भौतिकशास्त्रका वैज्ञानिक डा. शर्माले आफूले अनुसन्धान गरेको नयाँ समीकरणबाट ब्रम्हाण्ड संरचनाको व्याख्या र मापन गर्न निकै सहज हुने दावी गर्दै भन्नुभयो, “आइन्सटाइनका समीकरण निकै गाह्रो छ । मैले अनुसन्धान गरेको समीकरणबाट ब्रम्हाण्डको संरचना व्याख्या र मापन गर्न निकै सजिलो हुन्छ । व्याख्या र मापनमात्र नभई त्यसको हल पनि गर्न सहज हुनेछ ।”

उहाँले अनुसन्धान गर्नुभएको समीकरणलाई भौतिकशास्त्रसम्बन्धी ‘इन्टरनेसनल जर्नल अफ मोर्डन फिजिक्स’ नामक अन्तर्रा्ष्ट्रिय जर्नलमा प्रकाशन पनि गरिएको र विश्व विख्यात भौतिकशास्त्री स्टेफिन्स हकिन्सका शिष्यसमेत रहनुभएका क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक डा. दक्ष लुहियाले समेत आफूले गरेको खोजको निकै तारिफ गरेको बताउनुभयो ।

ब्रम्हाण्डमा ७० प्रतिशतभन्दा बढी अदृश्य पदार्थ मानव आँखाले देख्न सकिदैन । ब्रम्हाण्डका दुवै ध्रुवमा अलग अलग तापक्रम छ । ब्रम्हाण्डमा करोडौँ प्रकाश वर्ष टाढा निकै विशाल रिक्त स्थान (प्वाल) छन् । यी सबैसँग गुरुत्व तरङ्गको सम्बन्ध छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा डा. शर्माले आफूले अनुसन्धान गरेको समीकरणबाट तापक्रम, रिक्त प्वाल लगायतका बारेमा व्याख्या गर्न पनि मिल्ने दावी गर्नुभयो । उहाँले ब्रम्हाण्डमा अदृश्य पदार्थहरुको उपस्थितिको प्रमाणहरु पनि फेला पार्नुभएको छ । गोरखापत्रबाट