तथ्य बङ्ग्याएर अनावश्यक विवादमा ताने– उपसभामुख तामाङ

946
views

नुवाकोट, १३ चैत । गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन् । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छिन् ।

‘नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाइन मिडियाले नियोजितरुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्,’ उनले भनेकी छन् ।

गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानून चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुठो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पष्ट पारिन् ।

‘लडेर मरेको गाईलाई व्यक्तिगत रिसइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडित न्याय माग्दै भौँतारिइरहेका छन्,” उनले भनिन् ‘घटनाको वास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पु¥याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्रीसमक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएको हो ।’

उनले अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साइबर कानूनको ख्याल गर्न समेत अनुरोध गरिन् ।

नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नं ३ को उपसभामुखमा निर्वाचित तामाङ पूर्व कृषि विकास राज्यमन्त्रीसमेत हुन् ।