बाँके । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतालाई भन्दापनि कांग्रेस पार्टीलाई जोगाउन आफूहरु लागिपरेको बताएका छन् । नेपाल प्रेस यूनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको बताउँदै पार्टी विधिविधान सम्मत तरिकाले नचलेकाले दुर्गति व्योर्होनुपरेको बताए ।
सिंहले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोष व्यक्त गर्दै पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गरेको बताए । उनले भने ‘त्यस्तो हिसाबले पार्टी चल्दैन पार्टीको सभापति सबैको सभापति बन्नुपर्दछ ।’ सभापति देउवा गुटको सल्लाहमा मात्र चलेको र सरकारमा हुँदा अलोक प्रिय निर्णय गरेको नेता सिंहको भनाई थियो ।
वाम गठबन्धनले साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वाेच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूकहाँ ल्याएकोमा त्रास उत्पन्न गराएको उनले बताए ।
कुनैपनि अधिनायकवादी व्यवस्थासंग कांग्रेस नझुकने भन्दै गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध गरिने पनि उनको भनाई थियो । उनले केन्द्रीय समिति बैठक जारी रहेकाले चुनावी समिक्षाका अतिरिक्त पार्टी सुधारको लागि विधिवत महत्वपूर्ण निर्णय हुने समेत बताए । नेता सिंहले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार्य नहुने समेत बताए