नेपाल रेडक्रस र आईसीआरसीबीच आर्थिक सहयोग सम्झौता

836
views

काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी ९० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) का तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्र अनुसार नेपाल रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्म अनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारीक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि सो रकम उपलब्ध गराईने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपालभित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि नेपाल रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताउँदै रेडक्रस अभियानको सेवाप्रदान गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मूलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि भएको सहयोग सम्झौता महत्वपूर्ण रहेको बताए ।

दशवर्षे सशस्त्रद्वन्द्वको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहँदै आएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु कार्यकारी निर्देशक इन्द्र वहादुर केसी, आइसीआरसीका सञ्चार प्रमुख कृष्णचन्द्र चालिसे र को-अपरेशन प्रमुख प्रमेश पौडेलले आइसीआरसीको सहयोग सेवा प्रदानका लागि भएको उल्लेख गरे ।