पूर्व क्रिकेट कप्तान खड्कालाई ‘धनगढी क्रिकेट सम्मान’

813
views

काठमाण्डौ, १७, चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्कालाई धनगढीमा सम्मान गरिएको छ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ को उद्घटान समारोहमा आयोजक धनगढी क्रिकेट एकेडेमीले खड्कालाई नगद एक लाख राशी सहितको ‘धनगढी क्रिकेट सम्मान’ प्रदान गरेको हो ।

आयोजकले यसअघि नै नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन सफल एकजना पूर्व क्रिकेटरलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेको थियो । राजु खड्का सन् १९९६ मा नेपालले पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा त्यसका सदस्य थिए । त्यसयता राजुले सन् २००४ सम्म नेपालका तर्फबाट अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए ।

सन् २००२ मा राजु खड्काको कप्तानीमा सिंगापुरमा एसीसी ट्रफीको फाइनल पुग्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको थियो ।

राजु अन्तराष्ट्रिय क्रिकेटमा नेपालका तर्फबाट पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन् । उनले २००३ को एसीसी इमर्जिङ नेसन्स प्रतियोगितामा भुटानविरुद्ध ५० बलमा १ सय ५ रन प्रहार गरेका थिए ।

घरेलु क्रिकेटमा राजुले तिरुपति, यति एयरलायन्स, महावीर, आदि क्लबबाट क्रिकेट प्रतियोगिताहरु खेलेका थिए । त्यसबाहेक राजुले कपिलवस्तु, रुपन्देही, भैरहवा क्षेत्रबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता खेले ।

कपिलवस्तुलाई २०५७ को जय ट्रफी राष्ट्रिय प्रतियोगिता जिताउन राजुले मुख्य भूमिका खेलेका थिए भने २०५६ को जय ट्रफी राष्ट्रिय प्रतियोगिताको फाइनलमा काठमाडौं जिल्लाविरुद्ध उनले शतक प्रहार गरेका थिए।

राजुकै प्रशिक्षणमा रहेका सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा छनोट हुन सफल भएपछि पछिल्लो समय राजुको पनि चर्चा चुलिएको थियो । राजुको प्रशिक्षणमा चितवन क्रिकेट एकेडेमीबाट हालसम्म निश्चल पाण्डे, दीपेश श्रेष्ठ, सुशील कँडेल लगायत खेलाडी राष्ट्रिय स्तरमा आइसकेका छन् ।