रक्तदान शिविरहरु बढाउन रेडक्रस सोसाईटीको आव्हान

877
views

काठमाण्डौ, १९, चैत । काठमाडौँ उपत्यकामा रक्तसञ्चार केन्द्रहरुमा रगत तथा रगतको कम्पोनेन्टहरुको अत्याधिक माग वढेको छ । माग बढेसँगै रक्तदाताहरु तथा विभिन्न सँघ सँस्थाहरुलाई रक्तदान बढाउन नेपाल रेडक्रस सोसाइटीले आव्हान गरेको छ ।

रक्त सञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले सामान्यतया दैनिक औषतमा ३५० पिन्ट रगत वा रक्ततत्व माग भै आउने अवस्था रहेको र माग बढेकोले माग अनुसारको रगत परिपूर्ति गर्न रक्तदान शिविरहरु बढाएर जानुपर्ने बताईन् ।

उनले भनिन् ‘हस्पिटलमा अपरेसनको केशहरु बढेको पाइएको छ, पाटन अस्पतालको अपरेशनबाट ओ पोजेटिभ को ४ पिन्ट र प्लेटलेटको ४ थैली माग हुँदा तत्काल डोनर बोलाएर रगतपूरा गर्नुप¥यो, माग र दबाब बढिरहेको अवस्थामा शिविरहरु बढाउनुर्दछ ।’

नेपाल रेडक्रस भक्तपुरको दुधपाटीमा रहेको सेवा केन्द्रबाट गतबर्ष औषतमा दैनिक ११२ पिन्ट रगत आपूर्ति गरिएकोमा यसवर्ष १२५ देखि १५० पिन्ट माग छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीले भने गएको शुक्रबार ४०० पिन्ट रक्तसँकलन भएकोमा सोहीदिन नै ३५० भन्दा वढी आपूर्ति गरियो’

नेरेसो भक्तपुरका सभपति मनोज थापाले भने–हामीले रगतको मागपूर्जी ल्याएकालाई रित्तोहात फर्काएका छैनौँ, दाताहरुसँग नजीकको सम्पर्कमा रही व्यवस्थापन गरिरहेका छौँ तर भनेजति रगत एकैपटकमा दिनसकिएको छैन । विभिन्न सँस्थाहरुले रक्तदान शिविरहरु वढाइदिन सके यसमा सहज हुनेछ ।’

ललितपुरको दमकल चोकमा रहेको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग वढ्दो रहेको ललितपुर शाखाका सभापति बावुराजा महर्जनले जानकारी दिदै रेडक्रसका निकायहरुलाई रक्तसञ्चार उत्प्रेरणा तथा शिविर वढाउन प्रयत्नशील रहेको बताए ।

रेडक्रसका निकाय र यूवा सर्कलहरु र रक्तदानमा सक्रिय सँघसँस्थाले रक्तदान शिविर वढाउँदै गरेको पाइएपनि शनिवार वा सार्वजनिक विदाको दिनमा धेरै रक्तदान शिविर आयोजना भैरहेका तर अन्य दिनमा कम भएकाले त्यसलाई बढाउन सके रगतको आपूर्तिमा सहज हुने देखिन्छ ।