प्रधानसेनापति कङ्गो र सुडान मिशनको निरीक्षण भ्रमणमा

1202
views

काठमाण्डौ, १९ चैत । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित मोनोस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट निरिक्षण भ्रमणको लागि प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री आज कङ्गो प्रस्थान गर्दै हुनुहुन्छ ।

चैत्र २३ देखी २६ गतेसम्म दक्षिण सुडानस्थित युन मिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापतिले मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्तीका साथै अन्य विविध पक्षबारे जानकारी लिने जनाइएको छ ।

प्रधान सेनापतिको चार सदस्यीय भ्रमण टोलीमा सैनिक आर्थिक प्रशासन विभाग प्रमुख लेखा उपरथी भुवन बहादुर अधिकारी लगायतका अधिकृतहरुको सहभागिता रहने जनाइएको छ ।

भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति चैत्र २७ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।