होलुखोलामा थालियो सुन उत्खनन्

804
views

जाजरकोट, २० चैत । जाजरकोट सदरमुकाम खलङ्गास्थित होलुखोलामा चिनियाँ कम्पनीले सुन उत्खनन थालेको छ । भेरी नगरपालिका १ रावत गाउँस्थित होलु जिउलास्थित खोलामा चिनियाँ कम्पनी हीही छिङ माइनिङ कम्पनी प्राइभेट लिमिटेडले सुन उत्खनन कार्यको सुरुवात गरेको भेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभाग काठमाडौँको स्वीकृतिमा होलु खोलास्थित खलङ्गा–रिम्ना सडक अन्तर्गतको पक्की पुलदेखि होलु ज्युला को ४.९९ वर्ग किलो मिटर क्षेत्रफलमा उत्खननका लागि आफूले खानी तथा भूगर्भ विभागबाट स्वीकृति लिएको उक्त कम्पनीले जनाएको छ । जिल्लास्थित सरोकारवालाहरूसँगको समन्वयमा आफूले उत्खनन थालेको चिनियाँ नागरिक लु छियो हाइकुनले बताउनुभयो ।

सुन उत्खनन कार्यका लागि एक नेपालीसहित छजना चिनियाँ नागरिक कार्यरत छन् । उत्खननका लागि मेसिन भाडामा लिए पनि मेसिन चलाउने काम आफ्नै टोलीका सदस्यले मात्रै गर्ने गरेको स्थानीय मधुकर नेपालीले बताउनुभयो ।

उत्खननका लागि सुरुमा स्थानीय हिमालय शमशेर शाहको छ रोपनी जग्गा वार्षिक ७० हजार रुपियाँमा भाडामा लिएको र हाल बीच खोलाबाट कामको थालिएको छ । आवश्यकता अनुसार अरू जग्गासमेत भाडामा लिएर काम गर्ने दोभाषेको रूपमा काम गर्दै आएका खोटाङका सुरेश किराँतीले बताउनुभयो ।

यसरी आफ्नो गाउँमा सुन उत्खनन् सुरु भएको देखेर आश्चर्यमा परेर हेर्ने स्थानीयको समेत घुइँचो लागेको छ । जाजरकोटमा गतवर्ष पनि भेरी नदी किनार धल्ला गाउँमा चिनियाँ कम्पनीले सुन उत्खनन गरेको थियो । यसबारे स्थानीय सरकारले भने आफूहरूलाई जानकारी नभएको जनाएका छन् । गोरखापत्रबाट