केजरीवालले माफी मागे

711
views

एजेन्सी नयाँदिल्ली, २० चैत । मानहानिको मुद्दाका सम्बन्धमा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग आम आद्मी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले माफी मागेका छन् । अरविन्दले तीन वर्षपछि जेट्लीसँग माफी मागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१५ को डिडिसिए भ्रष्टाचार सार्वजनिक भएपछि केजरीवालले वित्तमन्त्री जेट्लीलगायत थुप्रै नेतालाई आपत्तिजनक शब्दमा गाली गरेका थिए । जेट्ली र उनका सहकर्मीहरूले अदालतमा केजरीवालविरुद्ध मानहानि मुद्दा दर्ता गरेका थिए ।

फैसलाअघि नै माफी
तीन वर्षदेखि नयाँदिल्लीको अदालतमा चलेको मानहानि मुद्दाको फैसला यसै साता हुँदै थियो । सार्वजनिक रूपमै जेट्लीमाथि अपशब्द प्रयोग गरेको प्रमाण अदालतमा प्रस्तुत हुने भएपछि अरविन्दले आफू पराजित हुने डरले माफी मागेको जनाइएको छ । केजरीवालले लिखित रूपमा जेट्लीसँग माफी मागेको एजेन्सीहरूले जनाएका छन् । केजरीवालसँगै आम आद्मी पार्टीका सांसद सञ्जय सिंह, आशुतोष र राघवले पनि माफीपत्र लेखेका छन् ।

वित्तमन्त्रीमाथि भ्रष्टाचारको आरोप
केजरीवालले डिडिसिए भ्रष्टाचारमा वित्तमन्त्री जेट्ली नै प्रमुख रहेको आरोप लगाएका थिए । ‘वित्तमन्त्री नै भ्रष्टाचारी हुँदा देशको अर्थतन्त्र कसरी सुधार हुन्छ ?’ तीन वर्षअघि केजरीवालले भनेका थिए, ‘भ्रष्टाचारी व्यक्ति पदमा एक मिनेट पनि बस्न मिल्दैन, नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ केजरीवालको यस आपत्तिजनक भनाइपछि जेट्लीसहित पाँच नेताले मानहानिको मुद्दा दर्ता गरेका थिए ।

गलत सूचनाका आधारमा आपत्तिजनक शब्द प्रयोग गर्न पुगेको स्विकार्दै नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वित्तमन्त्री अरुण जेट्लीसँग घटनाप्रति लिखित रूपमा माफी मागे
मुद्दा फिर्ता लिन आग्रह
मानहानि मुद्दाको फैसलापछि सम्भावित कारबाहीबाट उम्कन सिनियर वकिल राम जेठमलानीले केजरीवाललाई मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । जेट्लीमाथि पनि केजरीवालले मानहानिकै मुद्दा दायर गरेका छन् । आरोपितसँग माफी मागेपछि कारबाहीबाट बच्न सकिने वकिल जेठमलानीले सझुाब प्रस्तुत गरेका हुन् । ‘विपक्षीसँग माफीसँगै आत्मालोचना गर्दा अदालतको कारबाहीबाट बच्न सकिन्छ,’ जेठमलानीले भने, ‘यसो गर्दा कसैलाई हानि र्पुयाउँदैन ।’ अरविन्दको नरम प्रस्तावसँगै जेट्लीले अदालतमा दायर भएको मानहानिको मुद्दा फिर्ता लिने तयारी गरेको जनाएका छन् ।

के थियो माफीपत्रमा ?
नयाँदिल्लीका मुख्यमन्त्रीसमेत रहेका केजरीवालले आफूबाट ठूलै गल्ती भएको स्वीकार गरेका छन् । उनी भन्छन्, ‘अरुण जेट्लीजी, तपाईंलाई डिडिसिएका अध्यक्ष रहँदा आर्थिक हिनामिना भएको भनी आरोप लगाएको थिएँ, जुन म गलत ठहरिएँ ।’ डिडिसिएका केही पदाधिकारीले दिएको सूचनाका आधारमा आफूले जेट्लीमाथि भ्रष्टाचारी शब्द प्रयोग गर्न पुगेको केजरीवालले जनाएका छन् । ‘त्यसवेला तपाईं (जेट्ली) अध्यक्ष रहनुभएको डिडिसिए कार्यालयकै व्यक्तिहरूले मलाई सूचना दिएका थिए, त्यसैका आधारमा मैले ती नराम्रा शब्द प्रयोग गरेको हुँ,’ आफूलाई गलत सूचना दिइएको बताउँदै केजरीवालले भने ।