टिम चौराह धनगढीको दोस्रो जित,महेन्द्रनगर युनाइटेड ८ विकेटले पराजित

677
views

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको मंगलबार (आज) को एक मात्र खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

टिम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको धनगढीले दोस्रो खेलमा भने सिवाईसी अत्तरियालाई पराजित गरेको थियो ।

महेन्द्रनगर युनाइटेड दिएको १ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो। उसका लागि सुनिल धमलाले ४६ बलमा ३ चौका र २ छक्काको सहायतामा नटआउट ४५ रनको योगदान दिए । त्यस्तै रोहन मुस्तफाले ३९ र अस्फाक अहमदले ३० रनको योगदान दिदा सोनु तामाङले पनि नटआउट १५ रन बनाए । महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले एक–एक विकेट लिए ।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

महेन्द्रनगरका लागि पुनित मेहराले सर्वाधिक ४० रन बनाएका थिए । उनले ४० बलमा ४ चौंका र २ छक्काको मद्दतमा ४० रन प्रहार गरे । त्यस्तै भुवन कार्कीले ३२, पुनित बिष्टले २४ र बिनोद भण्डारीले १० रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन । महेन्द्रनगरलाई १३१ रनमा समेटन धनगढीका लागि ललित भण्डारीले ४, तथा सोमपाल कामी र सम्शेद शेखले एक–एक विकेट लिए ।

महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी र टिम चौराह धनगढीका कप्तान सोमपाल कामी हुन् । महेन्द्रनगर युनाइटेडले पहिलो खेलमा भने विराटनगर किङ्सलाई हराएको थियो ।