विहे गर्नु पहिला रगत जाँच गर्न संक्रमितको सुझाव

955
views

लिबाङ रोल्पा, २० चैत । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् ।

विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमानका कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमानका कारण एचआइभी एड्स संक्रमित बनेकी छन् । परिवारको मन्जुरीमा उनको विवाह भएको थियो । ‘‘रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका युवासँग विवाह गरिदिए छोरीले सुख पाउली भनेर बाआमाले दिनुभयो तर विवाह भएको केही वर्षपछि ममा पनि एचआइभी संक्रमण देखियो, हाल म पनि संक्रमित भएर बाँचिरहेकी छु’ उनले भनिन् ।

यस्तै, फगाम, रोल्पाकी ३९ वर्षीया एक महिला पनि श्रीमान्कै कारण एचआइभी एड्स संक्रमित भएकी छन् । उनीमात्र होइन श्रीमान्का कारण उनको गर्भबाट जन्मिएका दुई सन्तानसमेत एचआइभी एड्सको शिकार बनिरहेका छन् । केही वर्ष पहिले उहाँका श्रीमानको निधन भएपछि त यो परिवारलाई जीवन धान्न नै हम्मेहम्मे पर्दै आएको छ ।

यस्तै, माडी गाउँपालिकाको बूढा परिवारकी ३८ वर्षीया एक महिलालाई गएको माघ महिनामा सुत्केरी हुने क्रममा रगत जाँचका क्रममा एचआइभी एड्स संक्रमण देखियो । उनमा संक्रमण देखिएपछि उनका श्रीमान्को पनि रगत चेकजाँच भयो । सो क्रममा उनका श्रीमान् पनि एचआइभी एड्स संक्रमित भएको पुष्टि भयो ।

त्यतिमात्र होइन उनको गर्भबाट जन्मिएको नवजात शिशुमा पनि एचआइभी एड्स संक्रमण देखिएपछि उनको सिंगो परिवार नै एचआइभी एड्सको शिकार बनेर बाँचिरहेको छ ।

यो जोडी आजभन्दा करीब साढे एक वर्ष पहिलेमात्र विवाह बन्धनमा बाँधिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका युवकसँग सुखी जीवन बिताउने सुन्दर सपना देखेर विवाह बन्धनमा बाँधिएकी बूढालाई श्रीमान्का कारण आफू र आफ्नो सन्तानसमेत एचआइभी एड्स संक्रमण बन्नुपरेपछि नैराश्यता उत्पन्न हुनेमात्र होइन जीवनदेखि नै घृणा लाग्न थालेको छ ।

उनी निर्दोष छन् तर पनि संक्रमित भएकै कारण उनले समाजमा तिरस्कृत भएर बाँच्नु परेको छ । “समाजले छिछिदुर्र्दु गर्दा मन रुन्छ । श्रीमान्का कारण आज समाजमा शिर झुकाएर बाँच्नुपर्ने दिन आयो” आँशुका धारा बगाउँदै उनले भनिन् । निर्दोष हुँदाहुँदै पनि समाजबाट तिरस्कृत भएर बाँच्नु पर्दाको पीडा सायद अन्य व्यक्तिले अनूभूतिसम्म गर्न सक्दैनन् होला” उन भक्कानिँदै भनिन् ।

यसरी आफू गलत चरित्रको नहँुदा नहुँदै र परपुरुषसँग शारीरिक सम्पर्कमा नजाँदा नजाँदै पनि एचआइभी एड्स संक्रमित भएर बाँच्नुपरेको हुँदा अबका दिनमा विवाह बन्धनमा बाँधिन चाहने सबै युवायुवतीले विवाहपूर्व वा शारीरिक सम्पर्कमा जानु अगाडि प्रवासीमा एचआइभी एड्स संक्रमण भए नभएको पत्ता लगाउन रगत जाँच गरेरमात्र विवाह गर्नुपर्ने बूढाले बताएकी छन् ।

आफूले विवाहपूर्व श्रीमान्को रगत चेकजाँच गरेर विवाह गरेको भए आज आफ्नो यो अवस्था नहुँने बताउँदै उनले विवाह बन्धनमा बाँधिनुभन्दा पहिले नै रगत चेकजाँच गर्नुपर्ने सुझाव दिएकी छन् ।

करीब १८ वर्ष भारतको गढवालतिर रोजगारीमा बिताएर फर्किएका उनका श्रीमान्लाई समेत आफू एचआइभी एड्स संक्रमित भएकोबारे कुनै किसिमको जानकारी थिएन । तर हतारको निर्णयले उनलाई जीवनभर पछुताउनुबाहेक केही बाँकी छैन । अन्तमा आफूले असुरक्षित यौन सम्पर्क राखेका कारण संक्रमित बनेको उनले स्वीकार गरेका छन् भने संक्रमित बनेर बाँच्नु परेकोमा उनलाई पनि निकै पश्चाताप परिरहेको छ ।

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा यी जोडीमा मात्र होइन विवाह पछि वा विवाह अघि गरेर हालसम्म करीब २७ जना महिलामा श्रीमानका कारण एचआइभी एड्स संक्रमण देखिएको छ । यसैगरी, जिल्लामा करीब छ जोडीबाट जन्मिएका सन्तानसमेत एचआइभी संक्रमित भएको तथ्य बाहिर आइसकेको छ ।

“अविवाहित युवा तथा बाँकी जिन्दगी सुन्दर बनाउने सपना देखाएर विदेशिएका श्रीमान् एचआइभी एड्स संक्रमित भएर घर फर्कनु र यस्को असर श्रीमती वा छोराछोरीमा पर्न जानुले पनि पछिल्लो पुस्तालाई सचेत बन्न जरुरी देखिन्छ” व्यापारी रीता देवकोटाले भनिन् ।

उनका अनुसार श्रीमानको कुकर्मको सजाय श्रीमती वा सन्तानले पाउनुभन्दा पहिले वा प्रवासीसँग शारीरिक सम्पर्कमा रहनुभन्दा पहिले रगत चेकजाँच गर्नसके पनि एचआइभी एड्सको संक्रमणबाट बच्न सकिन्छ । यस विषयमा सबै युवायुवती तथा प्रवासीका श्रीमान् श्रीमतीसमेत सचेत बन्न उनको सुझाव छ ।