कैलाली, २२, चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ ।
विराटनगरले घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । धनगढीस्थित संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा १२७ रन बनाउँदै अलआउट भयो ।
विराटनगरले शुरुवाती १० रनमै ओपनर दिलीप नाथलाई गुमायो । उनले ४ रनमात्रै बनाउन सके । त्यसपछि ४१ रन हुँदा विराटनगरलाई दोस्रो झट्का लाग्यो । अर्का ओपनर अनिल शाह २४ रनमा आउट भए । लगत्तै बाबर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।
त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का पनि मात्र दुई रन बनाउँदै आउट हुन पुगे । कमजोर देखिएको विराटनगरले ८१ रन बनाउँदा आफ्ना महत्वपुर्ण ६ विकेट गुमाइसकेको थियो ।
चौराहाका लागि कसिलो बलिङ गरेका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुईरदुई विकेट हात पारे ।
विराटनगरको बलिङ सामू खुलेर खेल्न नसकेको टिम चौराहाले ५२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । सम्हालेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन ।
चौराहाका लागि शंकर रानाले २५ रन बनाउँदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे । टिमका लागि सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाए पनि हारबाट बचाउन सकेनन् । बलिङतर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान दुई÷दुई विकेट लिए ।