ओली र मोदीको विरोधमा चारवामको वक्तव्यः राष्ट्रघातका विरुद्ध संघर्षको घोषणा

843
views

काठमाडौं, २२, चैत । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (विप्लव)का प्रवक्ता प्रकाण्ड र नेकपाका अध्यक्ष ऋषि कट्टेलले संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाल सरकारका प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका क्रममा हुन लागेको राष्ट्रघातका विरुद्ध संयुक्त संघर्ष गर्ने घोषणा गरेका छन् ।

२०७४ चैत २१ गते चार कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठकले गरेका ३ बुँदे निर्णयहरु सार्वजनिक गर्दै गर्न जारी गरिएको वक्तव्यमा राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी परस्पर सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्न सहमत भएको जनाइएको छ ।

वक्तव्यमा नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भार बीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुराको घोर विरोध एवं भत्र्सना गर्दै चैत २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्त रुपमा शिलान्यास गर्ने कुराको विरोध गर्दै काठमाडौंमा संयुक्त विरोध गर्ने घोषणा गरिएको छ ।

वक्तव्यमा चार पार्टीको संयुक्त आयोजनमा अगामी बैशाख ३ गते राष्ट्रियता सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने पनि निर्णय गरिएको उल्लेख छ । सरकारले शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा पनि वक्तव्यमा त्यसको विरोध एवं भत्र्सना गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठः

‘संयुक्त प्रेस वक्तव्य

मितिः २०७४-१२-२२

मिति २०७४ चैत २१ गते चार कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठक बस्यो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
१) नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउने ।
२) राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी परस्पर सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्न सहमत भएका छौं । तत्कालका लागि निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।
क) नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भार बीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरुलाई कार्यन्वयन गर्ने कुराको घोर विरोध र भत्र्सना गर्ने ।
ख) चैत २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्त रुपमा शिलान्यास गर्ने कुराको विरोध गर्दै काठमाडौंमा संयुक्त विरोध गर्ने ।
ग) चार पार्टीको आयोजनमा अगामी बैशाख ३ गते राष्ट्रियता सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने ।
३) सरकारले शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने ।’