रुसले दियो बेलायतलाई कडा चेतावनी

632
views

मस्को, २३, चैत । रुसले बेलायतलाई गम्भीर चेतावनी दिएको छ । झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको हो । सलिसबरी जासूस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको उल्लेख गरे । बेलायती आरोप अर्थहीन भएको उनको भनाइ थियो ।

पूर्वजासूस प्रकरणमा रुसको हात रहेको आरोप बेलायतको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ । राष्ट्रसंघका लागि ब्रिटिश दूत करिन पीयर्सले भने कुनै पनि खालको छानविनका लागि तयार रहेको उल्लेख गरिन् ।

आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै छलफलका लागि रुसले सुरक्षा परिषदको विशेष बैठक आह्वान गरेको थियो । बैठकमा नेबेन्जिआले औचित्यहीन विषय उचालेर ब्रिटेनले प्रोपोगन्डा युद्ध गरिरहेको आरोप लगाए ।

रुसलाई बद्नाम गर्नकै लागि विष पिलाउने दुष्कर्ममा रसियन नामसँग मिल्ने नशाका दलाल नोभिचोकलाई प्रयोग गरिएको उनको दलील थियो । पूर्वरुसी जासूस सरर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि विष खुवाएर मार्ने षड्यन्त्र गरेको आरोप रुसमाथि लागेको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।

मार्च ४ मा उनीहरु दुबैलाई बेहोस अवस्थामा उद्धार गरिएको थियो । यसैबीच, ३३ वर्षीया युलियाको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ भने बाबुको अवस्था गम्भीर नै रहेको छ । यसै प्रकरणमा रुसको बाँकी विश्वसँग सम्बन्ध बिग्रँदै गएको छ ।

रुसमा रहेका कूटनीतिज्ञहरुलाई अमेरिकासहित बेलायतका मित्र देशहरुले फिर्ता बोलाएका छन् भने रुसले पनि ती देशका कूटनीतिज्ञलाई फिर्ता पठाएको छ । (एजेन्सी)