छोरालाई २० वर्षदेखि बन्धक बनाउने जापानी पक्राउ

741
views

एजेन्सी टोकियो, २६ चैत । आफ्नो छोरालाई वर्षौंदेखि पिँजडामा थुनेर राखेका एक जापानी पुरुष पक्राउ परेका छन् । छोरालाई फलामको सिक्रीले बाँधेर २० वर्षदेखि पिँजडामा थुनेका ७३ वर्षीय वृद्ध योसिताने यामासाकीलाई प्रहरीले पक्राउ गरेको हो । छोरो आक्रामक देखिएपछि तह लगाउन बाँधेर राखेको ती बाबुले बताएका छन् । यामासाकीले छोरालाई घरबाट केही टाढा एक मिटर अग्लो र मुस्किलले दुई मिटर फराकिलो पिँजडाभित्र थुनेर राखेका थिए ।

वर्षौंसम्म सानो पिँजडामा बस्दा छोरा कुप्री परेको जापानी अधिकारीहरूले बताएका छन् । उनको पश्चिम जापानको सामाजिक कल्याणकारी केन्द्रमा उपचार भइरहेको छ ।

सरकारी सेवानिवृत्त यामासाकीले मानसिक बिरामी छोरालाई १६ वर्षको उमेरदेखि नै पिँजडामा राखेका थिए । उनका छोरा अहिले ४२ वर्षका भए । उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

छोरालाई हरेक दिन खुवाएको र एक दिन बिराएर नुहाउन अनुमति दिएको उनले दाबी गरेका छन् । मानसिक अस्पतालको राम्रो पहुँच हुँदाहुँदै पनि सहरको मध्यभागमा बस्ने यामासाकीले छोरालाई वर्षौंसम्म गुपचुप थुनेर राखेकोमा सर्वसाधारण चकित परेका छन् । दोषीलाई कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

दैनिक १२ घन्टाभन्दा बढी समय काम गर्ने जापानी समाज बिस्तारै यान्त्रिकीकरणतर्फ उन्मुख बनेको छ । कामको पछाडि मात्र लाग्दा अधिकांश जापानी माया, ममता र सामाजिक उत्तरदायित्वबाट भाग्न थालेको विज्ञहरूले बताएका छन् ।