नयाँ वर्षमा माछा महोत्सव, ४० लाख कारोवारको अपेक्षा

1187
views

पोखरा, २६, चैत । नयाँ वर्षको सुरुवातसँगै सात तालको सहर लेखनाथमा माछा महोत्सव (फिस फेस्टिभल) हुने भएको छ । पोखराका तालहरूमा नयाँ प्रजातिका माछाका कारण पुराना र स्थानीय माछा लोप हुन थालेपछि लेखनाथमा संरक्षण प्रयाससहित फेस्टिभल गर्न लागिएको हो ।

सो महोत्सवको आयोजना होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ र बेगनास डुङ्गा व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति तथा बेगनासताल बजार व्यवस्थापन समितिको सह आयोजनामा लेखनाथको बेगनास ताल किनारमा चैत २९ देखि वैशाख १ गतेसम्म फिस फेस्टिभल हुने भएको हो ।

‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने नारासाथ आयोजना हुने फेस्टिभलमा बेगनास ताल, रुपा ताल, मैदी र दिपाङ तालसहित स्थानीय पोखरीमा उत्पादन भएका माछा बिक्री तथा वितरणमा राखिने फेस्टिभल संयोजक दामोदरभक्त थापाले जानकारी दिनुभयो । फेस्टिभलमा २३ प्रकारका माछाहरू बिक्रीका लागि राखिनेछन् भने माछाको झोल, माछा फ्राइ, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरूको स्वाद लिन पाइने उहाँले बताउनुभयो ।

प्रवेश निशुल्कः
प्रायजसो महोत्सवमा शुल्क लगाउने भएपनि माछा महोत्सवमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै माछाको बारेमा जानकारी लिन चाहानेका लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यवस्था समेत मिलाइने भएको छ ।

पर्यटन प्रर्वद्धनमा टेवा
माछा महोत्सबले पर्यर्टन प्रर्वद्धनलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नु, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, उत्पादित माछा, मह, कफी, जडीबुटीको प्रचारप्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरूको संरक्षण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको एसोसिएसन लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीको भनाई छ ।

उहाँले सात ताल, जैविक विविधता, मनोरम हिमश्रृङ्खला, विभिन्न जातका चराचुरुङ्गी, जङ्गली जीवजन्तुलगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने जानकारी दिनुभयो ।

विभिन्न खेलहरुको प्रतियोगिता
फेस्टिभलको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरू, माछाको परिकार बनाउने निःशुल्क तालिम, कफी प्रदर्शनी, जडीबुटी प्रदर्शनी, पप कन्सर्ट, लोकदोहोरी, बाल उद्यानलगायतका कार्यक्रम मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ । फेस्टिभलको ७० हजार दर्शकले अवलोकन र करिब ४० लाखको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।