शीतयुद्ध मानसिकता विरुद्ध अन्तराष्ट्रिय समुदायलाई चीनको चेतावनी

659
views

एजेन्सी बेइजिङ, २८ चैत । चीनका राष्ट्रपति सी जिनपिङले शीतयुद्ध मानसिकता तत्काल त्याग्न चेतावनी दिएका छन् । राजधानी बेइजिङमा सुरु भएको बोआओ फोरम फर एसिया (बिएफए) लाई सम्बोधन गर्दै उनले अन्र्तराष्ट्रिय समुदायलाई सो चेतावनी दिएका हुन् । अमेरिका र चीनबीच व्यापार युद्धको खतरा बढेको बताइरहेका वेला राष्ट्रपति सीको पछिल्लो धारणा आएको हो ।

वासिङ्टनसँगको व्यापार युद्धको जोखिम शान्त पार्ने प्रयासस्वरूप राष्ट्रपति सीको सो सम्बोधन आएको हो । चीनबाट कार निर्यातमा लाग्दै आएको शुल्क कटौती गर्ने र चीनमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई आवश्यक पर्ने प्रावधान खुकुलो बनाउने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ अडानविपरीत चिनियाँ राष्ट्रपति सीले समानतालाई जोड दिए । ‘विश्वव्यापी रूपमा मानव समाजले विभिन्न चुनौती सामना गरिरहेको छ,’ चिनियाँ र अन्तर्रा्ष्ट्रिय लगानीहरूको एउटा समूहलाई सम्बोधन गर्दै उनले भने, ‘आजको विश्वमा शान्ति र सहकार्यको प्रवृत्ति अगाडि बढिरहेको छ र शीतयुद्धको मानसिकता अब पुराना भइसके ।’

राष्ट्रपति सीले वासिङ्टनसँगको जारी तनावलाई संकेत गर्दै अप्रत्यक्ष रूपमा अमेरिकासँगको असन्तुष्टि पोखे । ‘अर्काको बारेमा ख्यालै नगरी आफ्नो समुदायतर्फ मात्र ध्यान दिँदा आफैँलाई हानि हुन सक्छ । शान्तिपूर्ण विकास र सहकार्य गर्दा मात्र हामी सबैको जित हुन्छ,’ उनले भने ।

कुनै पनि देश क्षणिक स्वार्थमा अल्झिन नहुने उनको भनाइ थियो । ‘प्रतिस्पर्धाको नाममा अर्को मुलुकको खुट्टा तान्ने प्रवृत्तिले आफ्नै विनाश गर्छ,’ उनले भने । स्वस्थ प्रतिस्पर्धाबाटै सम्पूर्ण विश्वले लाभ पाउने उनको धारणा थियो । राष्ट्रपति सीको भनाइप्रति ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।

पछिल्लो समयमा अमेरिका र चीन दुवैले एक–अर्को देशमा निर्यात हुने सामग्रीको निर्यातमा भारी शुल्क वृद्धि गरेका छन्, जसका कारण व्यापार युद्धको जोखिम बढेको विज्ञहरूले बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले दुई साताअघि चिनियाँ उत्पादनमा भारी शुल्क लगाउने घोषणा गरेका थिए । त्यसअघि चीनमा धेरै निर्यात हुने स्टिलका सामग्रीमा लगाइँदै आएको शुल्कमा वृद्धि गरेका थिए ।