रोमाले दियो बार्सिलोनालाई ठूलो झट्का

675
views

काठमाडौं, २८, चैत । इटालियन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै गएराति भएको खेलमा रोमाले बार्सिलोनालाई ३–० गोल अन्तरले हराएको हो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो ।

घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो ।

खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धा्रित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गरे । रोमाका खेलाडीहरुको तीव्र गति र उर्जावान प्रदर्शनका सामु ला लिगाको लिडर बार्सिलोना निरीह देखिएको थियो ।

लिगकै अर्को खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

गएराति नै भएको खेलमा सिटीलाई २–१ ले हराएको लिभरपुलले समग्रमा ५–१ को शानदार जित निकालेको छ । पहिलो लेगमा सिटी ३–० ले हार ब्यहोर्न बाध्य भएको थियो ।

घरेलु मैदान गाब्रियल जेसिसले दोस्रो मिनेटमै गोल गरेर राम्रो सुरुवात दिलाए पनि दोस्रो हाफमा लिभरपुल हावी हुँदै ५६ औं मिनेटमा मोहम्मद सलाह र ७७ औं मिनेटमा फिर्मिनोले गोल गरी जित दिलाएका थिए ।