नेकपाले मनायो शहीद शम्भु नेपालीको १४ औं स्मृति दिवस

1176
views

पर्वत । । नेकपा पर्वतले जनयुद्वका क्रममा रुकुमको खारा आक्रमणमा शहादत प्राप्त गरेका पर्वत मोदी गाउँपालिका–६ दराकका शहीद शम्भु नेपालीको १४ औं स्मृति दिवस मनाइएको छ । नेकपाले मोदी गाउँपालिका– ६ दराकमा शम्भु नेपालीको स्मृति दिवस मनाएको हो ।

स्मृति दिवसका अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पर्वतका जिल्ला सेक्रेटरी भिम वहादुर हमाल ‘अल्वर्ट’ले शहीदले बगाएको रगतको सपना साकार पार्ने बताए । हमालले आवश्यक परे फेरी हतियार उठ्ने संकेत गर्दै सिंह दरबारको अधिकार गाउँमा आएको भ्रम छर्दै संस्थागत रुपमा भ्रष्टाचारको सञ्जाल गाउँमा आएको बताए ।

१४ औं स्मृति दिवस कार्यक्रममा माओवादी केन्द्रका मोदी गाउँपालिका ईन्चार्ज मान बहादुर पौडेल, एमालेको तर्फबाट मोदी गाउँपालिका वडा ६ का अध्यक्ष बाबुराम पराजुली, नेपाली काँग्रेसका गाउँकमीटी सदस्य धन बहादुर नेपाली लगायतले शहीदको सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार क्षेत्र रेग्मी, माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार तुलसी गिरीले समेत बोलेका थिए । शम्भु नेपालीको २०६२ चैत २९ गते रुकुमको खारा आक्रमणका क्रममा ज्यान गएको थियो ।

कार्यक्रमको अवसरमा शहीदका बाबु जित बहादुर नेपाली र आमा गोमा नेपालीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन नेकपाका १ नम्बर कमाण्ड ईन्चार्ज प्रकाश लामिछानेले गरेका थिए ।