५० हजार घुससहित नापी हाकिम पक्राउ

902
views

गाईघाट । नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो ।

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दैगर्दा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।

सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र संशोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपिँया घुस मागेको बुझिएको छ । ठूलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए । विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ती र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेबीच २ लाख रुपिँयामा सहमति भएको सेवाग्राहीले बताएका दछन् ।

पक्राउ परेका साहले आफूले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावी गरे । पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको छ । स्रोत अन्नपूर्ण पोष्ट