मिर्गौला पीडित चौधरीको उपचारका लागि साझा मञ्चको पहल

884
views

दुवै मिर्गाैलामा समस्या देखिएपछि साउदी अरबमा कार्यरत दाङका श्रीराम चौधरीलाई कम्पनीले नेपाल फर्काई दिएको छ । नेपाल फर्काइएका चौधरीको उपचारका लागि नेपाली साझा मंचले नेपालबाट पहल गरेको छ ।

चौधरी स्वस्थ युवाका रुपमा वैदेशिक रोजगारका लागि २७ महिनाअघि साउदी अरबको अब्दुलरहमान अलओताइसन ग्रुप नामको कम्पनीमा गएका थिए । पाजु मेनपावर मार्फत साउदीमा साउदी रियल ९००+३०० तलब, दुई वर्षको करार अवधी र पलम्बर कामका लागि भनि गएका उनीलाई सम्झौता विपरीत ७००+३०० मात्र तलब र हेल्पर, पेन्टर, इन्सुलेसन र सिभिल पाइप लाइनमा खाडल खन्ने गैती र बेल्चा चलाउने काम लगाइएको बताइएको छ ।

२०१७ जुलाईबाट मिर्गौला रोगबाट पीडित भएका चौधरीको उपचारमा कम्पनीले बेवास्ता गरेका कारण समस्या जटिल भएको उनको भनाई छ । समस्या जटिल र काम गर्न नसक्ने भएपछि कम्पनीले उनलाई अप्रिल २१ मा नेपाल फर्काइदिएको हो ।

हाल मिर्गौला पीडित चौधरीलाई काठमाडौं स्थित वीर अस्पतालमा प्रारम्भिक उपचारका लागि लगिएको साझा मञ्चका अन्तराष्ट्रिय सम्योजक महेश श्रेष्ठले जानकारी दिए । चौधरीको एक पत्नी दुई छोरा छन् ।