पहिलो पटक अण्डकोष थैलीसहितको लिंग प्रत्यारोपण सफल

1102
views

एजेन्सी, ११ वैशाख । अमेरिकी चिकित्सकहरुको एक समूहले संसारमै पहिलो पटक अण्डकोष थैली सहितको लिंग प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छन् । अफगानिस्तानमा बम आक्रमणमा परी घाइते भएका एक सैनिकमाथि सो प्रत्यारोपण गरिएको हो ।

मेरिल्याण्डको बाल्टिमोरस्थित जोन्स होप्किन्स युनिभर्सिटीका विशेषज्ञहरुले एक मृत दाताबाट लिंग, अण्डकोष थैली र पेटको केही हिस्सा लिएर सो प्रत्यारोपण गरेका थिए। सो शल्यक्रिया गर्न २६ मार्चका दिन ११ विशेषज्ञलाई १४ घण्टा लागेको थियो ।

यद्यपि नैतिक पक्षलाई ध्यान दिँदै दाताको अण्डकोष भने ती सैनिकलाई प्रत्यारोपण नगरिएको जनाइएको छ । ती सैनिकले यौन क्षमता पनि पुनः प्राप्त गर्ने जनाइएको छ । उनी ६ देखि १२ महिनापछि पूर्णरुपमा ठीक हुने अपेक्षा गरिएको छ। यसैसाता उनी अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

अफगानिस्तानमा एम्बुसमा परेर उनी घाइते भएका थिए । उनको परिचय गोप्य राखिएको छ। शल्यक्रियापछि आफूले पहिलो पटक सामान्य महसुस गरेको उनले बताएका छन् ।

सो विश्वविद्यालयले चिकित्सकहरुको सो टोलीलाई यस्तै ६० प्रत्यारोपण गर्न अनुमति प्रदान गरेको छ । अमेरिकामा सन् २०१६ मा पहिलो पटक लिंग प्रत्यारोपण गरिएको थियो भने संसारमै पहिलो पटक सन् २०१४ मा दक्षिण अफ्रिकी चिकित्सकहरुले सफल लिंग प्रत्यारोपण गरेका थिए ।