मोदीलाई चार तहको सुरक्षा

566
views

काठमाडौं, २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी फोर्सको हेलिकोप्टरमा आउने गृह मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने र जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं फर्किने भएका छन् । तर मोदीको मुस्ताङको जोमसोम जाने कार्यक्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ । भारतीय पाइलट मुस्ताङको भूगोलमा अभ्यस्त नभएकाले नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्ने सेनाको तर्क छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अुनसार ‘प्रधानमन्त्री मोदी उताबाटै आएको हेलिकोप्टरमा आउने सूचना छ । काठमाडौंसम्म त्यही हेलिकोप्टर प्रयोग होला । जोमसोम जाने क्रममा भने यसै भन्न सकिँदैन ।

इन्डियन एयरफोर्सका २५ सुरक्षाकर्मी आउने

मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन् भने भ्रमण अवधिभर प्रधानमन्त्री मोदीको सुरक्षाको लागि पहिलो घेरामा उनीहरू नै रहनेछन् । जनकपुर ओर्लिएपछि मात्रै नेपाली सेनाले कमाण्ड सम्हाल्नेछ ।

सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ । उनीहरू पनि सादा पोसाकमै रहनेछन् । त्यसपछिको तेस्रो सुरक्षा घेरामा नेपाली सेना र नेपाल प्रहरी रहनेछन् । यसका लागि सेनातर्फको कम्तीमा मेजरको कमान्डमा एक सय २५ सैनिक खटिनेछन् । चौथो घेरामा सशस्त्र प्रहरी बलका सुुरक्षाकर्मी रहनेछन् ।

गृहका अनुसार मोदी भ्रमणभर जनकपुरमा मात्रै नेपाल प्रहरीबाट दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । मोदीको कार्गेटमा पनि नेपाल प्रहरी नै हुनेछ । भ्रमण अवधिभर सडक क्लियर गर्ने जिम्मा नेपाल प्रहरीकै छ । यस अवधिमा सीमा क्षेत्रका नाका सिल गरिनेछ ।

२ हजार पाँच सयकै हाराहारीमा सशस्त्र प्रहरीबाट पनि सुरक्षाकर्मी खटिनेछन् । उनीहरूले बन्द गरिएको सीमानाकामा नेपाल प्रहरीसँगै संयुक्त रूपमा गस्ती गर्नेछन् ।

त्यसबाहेक जानकी मन्दिरवरिपरि घरका छत, पुल, सडक तथा मन्दिर परिसरमा सशस्त्रका सुरक्षाकर्मी हतियारसहित तैनाथ रहनेछन् । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि भ्रमण अवधिभर खटिनेछन् । उनीहरूले भने सुरक्षासँग सम्बन्धित सूचना मात्रै संकलन गर्नेछन् ।

मुस्ताङ भ्रमण अवधिभर प्रदेश नं ४ बाट खटिएका सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । जनकपुर, काठमाडौं र मुस्ताङ गरी भ्रमण अवधिभर कम्तीमा १२ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालित रहनेछन् ।