आणविक परीक्षणस्थल भत्काउने निर्णयको दक्षिण कोरियाद्वारा स्वागत

826
views

एजेन्सी । आणविक हतियार परीक्षणस्थल भत्काउने उत्तर कोरियाली घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लुहाउसका प्रवक्ताले उत्तर कोरियाको कदमको स्वागत गरेका हुन् ।

उत्तर कोरियाले विदेशी विज्ञहरूलाई समेत आमन्त्रण गरेर यही २३ मेदेखि हतियार परीक्षणस्थल भत्काउने बताएको छ । १२ जुनमा सिंगापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने शिखर वार्तापूर्व उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काउने बताउँदै आएको छ । दुई शीर्ष नेताबीच हुने वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरिरहेको छ ।

कोरियाली प्रायद्वीपको तनाव अन्त्य गर्ने पहलस्वरूप उत्तरको पछिल्लो कदम आएको दक्षिण कोरियाले बताएको छ । आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थल भत्काउने प्रक्रियाको विदेशी सञ्चारमाध्यमहरूले अनुगमन गर्ने भएका छन् ।

चीन, रसिया, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्टबारे अनुगमन गर्न दिइने उत्तरले बताउँदै आएको छ ।

यसअघि उत्तर कोरियाली नेता उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपटकसम्म भेटवार्ता गरेका थिए । किमले तीन साताअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गरेका थिए ।

भेटका क्रममा दुई कोरियाबीच पहिलोपटक शान्ति सम्झौता भएको छ । दुई देशबीचको ६५ वर्ष लामो युद्ध अन्त्य गर्ने घोषणाले कोरियाली प्रायद्वीपमा शान्तिको आशा पलाएको छ ।