ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप दुई महिनापछि

671
views

जनकपुरधाम, १ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएका छन् । तर, त्यसपछि भने जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् । नियमित बससेवा सञ्चालन हुन अझै दुई महिना लाग्ने प्रदेश २ सरकारले जनाएको छ ।

नेपाल र भारतको धार्मिक तथा पौराणिक सम्बन्धलाई थप प्रगाढ बनाउन जनकपुरधाम–अयोध्या मैत्री बस सञ्चालन गर्न लागिएको बताउँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘दुई महिनाभित्रै नियमित बस सेवा सञ्चालन गर्छौं ।’ यसका लागि प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उनले बताए । २८ वैशाखमा जानकी मन्दिरको प्रांगणमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्या मैत्री बस सेवालाई हरियो झन्डा देखाएर सुरुवात गरेका थिए ।

जानकी मन्दिरबाटै टिकट काटिने
पहिलो चरणमा सातामा दुई दिन मात्रै जनकपुरधाम–अयोध्या बस सञ्चालन हुने र त्यसको टिकट जानकी मन्दिरकै प्रांगणमा कटिने तयारी गरिरहेको मन्त्री यादवले बताए । प्रदेश सरकारनै बस चलाउने वा कुनै कम्पनीलाई ठेक्का दिने भन्ने विषयमा नटुंगिएको उनले बताए । यात्रुको चापअनुसार, दैनिक बस सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

आयोध्या पुगेर फर्किएका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले भारतीय नागरिक उत्साहित रहेको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण सर्किटका लागि एक अर्ब ३५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको उनले बताए । त्यसमध्ये केही भारतमा र केही नेपालमा खर्च हुने उनको भनाइ छ । नयाँपत्रिका डटकम