रेल सञ्जालमा १० हजार सुरक्षाकर्मी परिचालन गरिने

874
views

एजेन्सी । भारतमा रेल सञ्जालको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी थपिने भएका छन् । रेल सेवा सञ्जाल तीव्र विस्तार हुँदै गर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन ती सुरक्षाकर्मी थप्ने भएको छ ।

भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार ८ हजार ६ सय १९ पदमा रेलवे सुरक्षा जवान रहनेछन् र ११ सय २० मा सब–इन्सपेक्टर रहनेछन् ।

‘रेल सेवालाई थप सुरक्षित र मर्या्दित बनाउन सरकारले रेल सेवाका लागि ठूलो जनशक्ति तयार गरेको छ । थपिएको जनशक्तिले भारतीय रेल सेवा सञ्जाललाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा सरकारको रहेको छ,’ रेल सेवा मन्त्रालयका एक अधिकारीले भने ।

भारतमा रेल सेवा तीव्र ढंगले विस्तार भएको छ । देशको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेल सेवा विस्तार भएको छ । सरकारी तथ्यांकअनुसार भारतमा करिब नौ हजार रेलले प्रत्येक दिन दुई करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ ।