नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्रीको जवाफ

631
views

काठमाडौँ, १३, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन लाग्नुभएको हो । जवाफका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो ।

उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो ।

नीति तथा कार्यक्रममा सरकारले आगामी १० बर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५÷७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४÷७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारीत समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो । बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गर्नुभयो ।