दीपेन्द्रसिंहको चार विकेट

898
views

काठमाडौं १५, जेठ– अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ४ विकेटप्रेरित नेपाल पुलिसले सोमबार प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ७ माथि १ सय ७४ रनको सानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले प्रस्तुत गरेको ३ सय २५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ७ ले वर्षाले खेल बाधक बनेपछि जितका लागि ३७ ओभरमा ३ सय ५ रनको नयाँ लक्ष्य पाएको थियो । तर प्रदेश नम्बर ७ ले निर्धा्रित ३७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन मात्र जोड्न सक्यो ।

प्रदेश नम्बर ७ का अरुण ऐरीले अविजित ७० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गन सकेनन् । ८८ बल खेलेका अरुणले ५ चौका र ३ छक्का प्रहार गरे ।

ललित भण्डारीले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोहित सिंहलाई एलबिडब्लुको सिकार बनाएपछि प्रदेश नम्बर ७ सुरुआतबाटै दबाबमा परेको थियो । पाँचौं ओभरको दोस्रो बलमा भण्डारीले सन्जु दमाईं र नवौं ओभरको अन्तिम बलमा दीपेन्द्रले रोशन नेपालीलाई पवेलियनको बाटो देखाएपछि प्रदेश नम्बर ७ थप दबाबमा परेको थियो ।

सन्जु र रोशन दुवै जना विकेटकिपर दिलीप नाथबाट क्याच भएका थिए । त्यसपछि ब्याटिङका लागि आएका अरुणले टोलीको इनिङ उकास्ने प्रयास गरे पनि उनलाई अन्य खेलाडीले दरिलो साथ नदिँदा प्रदेश नम्बर ७ को प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने लक्ष्यले पूर्णता पाउन सकेन । यसअघि आइतबार भएको पहिलो खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ लाई ४८ रनले पराजित गरेको थियो ।

पुलिसका दीपेन्द्रले ८ ओभरमा १९ रन खर्चंदै ४ तथा ललितले ७ ओेभरमा २९ रन खर्चंदै २ विकेट लिए । त्यस्तै ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २४ रनको सम्मानजनक योगफल खडा गरेको थियो । पुलिसका ओपनर सुनील धमलाले सर्वा्धिक ८३ र आरिफ शेखले ५९ रनको योगदान गरे । १ सय १३ बलको सामना गरेका सुनीलले ९ चौका तथा ३७ बल खेलेका आरिफले २ चौका र ५ छक्का प्रहार गरे । सुनील र आरिफले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि दिलीप नाथसँग ९२ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका सुनीलले दोस्रो विकेटका लागि दीपेन्द्रसँग ४८ रनको साझेदारी गरेका थिए ।

४०औं ओभरमा सुनीललाई रोशनले रनआउट गरेपछि ब्याटिङका लागि आएका मन्जित श्रेष्ठ र आरिफले पाँचौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै पुलिसको इनिङ विशाल योगफलतर्फ डोर्याएका थिए । मन्जित र सिद्धान्त लोहनीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । ३३ बल खेलेका मन्जितले ३ चौका र ४ छक्काको मद्दतमा अविजित ४४ रनको योगदान गरे । प्रदेश नम्बर ७ का शेर मल्लले २ तथा सन्तोष भट्ट र सुरज चन्दले समान १ विकेट लिए ।

सोमबारै मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई डर्कवर्थ लुइस पद्धतिमा ६८ रनले पराजित गर्याे । प्रदेश नम्बर १ ले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले वर्षाले खेल बाधक बनेपछि जितका लागि ३४ ओभरमा २ सय १४ रनको नयाँ लक्ष्य पाएको थियो । तर प्रदेश नम्बर २ ले ३० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन मात्र जोड्न सक्यो।

प्रदेश नम्बर २ का ओपनर हरिशंकर शाहले सर्वा्धिक ४४ र राहुलप्रताप सिंहले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ६६ बल खेलेका हरिशंकरले ६ चौका प्रहार गर्दा २९ बलको सामना गरेका राहुलले १ चौका प्रहार गरे ।

प्रदेश नम्बर १ का मनीष थापा र पुष्प थापाले समान ३ तथा मनोज तामाङले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर १ ले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २३ रनको योगफल खडा गरेको थियो ।

प्रदेश नम्बर १ का सन्दीप ढुङ्गानाले ५१ तथा फिर्दोश अन्सारीले अविजित ३७ र श्रवण यादवले अविजित ३४ रनको योगदान गरे । फिर्दोश र श्रवणले आठौं विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्मानजनक योगफलसम्म डोर्याएका थिए । प्रदेश नम्बर २ का समसाद शेखले ४ र मेहबुब आलमले २ विकेट लिए । स्रोतः नागरिक न्युज