गणतन्त्र कसैले सापटी दिएको होइन– प्रधानमन्त्री

1531
views

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र कसैले दिएको सापटी नभई लडेर ल्याइएको बताएका छन् । प्रधानमन्त्रीले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार भएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ भएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको पनि भन्दै आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने पनि जिकिर गरे ।

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको बताउँदै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताए । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन भएको पनि ओलीले बताए ।

उनले एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन भएको भन्दै प्रधानमन्त्री ओलीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताए ।