मन्त्री छान्ने जिम्मा अध्यक्षलाई

608
views

काठमाडौँ, १७ जेठ । संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

सिंहदवारस्थित फोरम नेपालको संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले तीनजना मन्त्रीको नाम चयन गर्ने जिम्मेवारी संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष यादवलाई दिएको दलका सांसद उमाशंकर अरगरियाले जानकारी गराउनुभयो ।

सरकारसँग जेठ १४ गते भएको दुईबुँदे सहमतिअनुसार फोरम नेपाल सरकारमा सहभागी हुन लागेको हो । दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएका फोरम नेपाललाई नाम चयन गर्नमा सकस भएको छ । फोरम नेपालले स्वास्थ्य तथा जनसङ्ख्या र शहरी विकास मन्त्रालय पाएको छ ।
संसदीय दलको बैठकमा छलफल हुँदा मन्त्रीको नाममा कुरा नमिलेपछि त्यसलाई मिलाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको हो । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवको नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुनेछ । अन्य दुईजनाको नाम बिहीबारसम्म टुङ्गो लगाइनेछ ।

एकजना मन्त्री र एकजना राज्यमन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाई सकेपछि पार्टीको पदाधिकारीबाट त्यसको अनुमोदन गराइने छ । त्यसपछि मात्र नवनियुक्त मन्त्रीको शपथग्रहण हुने छ ।