व्यावसायिक लिची खेतीमा पाल्पा हुगीका किसानको आकर्षण बढ्दो

1966
views

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको किसनाहरुले बताएका छन् । किसानले फलाएको लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् ।

पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हँुदै आएको किसान मीनप्रसाद अर्यालले बताए ।

पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताए ।

लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । अर्का किसान जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन् ।

लिची खेतीबाट वार्षिक रु ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ ।

किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको र रु पाँच हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने करीब १०० घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिए । मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा रहेका छन् ।