अग्रगमन विरुद्धको प्रयास नियन्त्रण गर्छौं– प्रम ओली

डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन

711
views

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए ।

“हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरूलाई थाहा हुनपर्याे चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ ।

ओलीले कम्युनिष्टहरूको सरकार आएको मन नपराउनेहरू अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । ‘उनीहरूलाई खटपट भएको छ, जसको टाउकोको मूल्य तोकियो उही व्यक्ति शासनमा छ अहिले । जसलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छ अहिले’ उनले भने, ‘यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनुपर्ने केही छैन ।’

ओलीले काँँग्रेसलाई प्रश्न गरेका छन्, ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ ।’ नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्युष्टि पार्टीले गर्ने ओलीले बताए ।  उनले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताए । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?’’ उनले भने, ‘डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ ।’

सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै उनले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भीर भएको बताए ।