सरकारद्वारा ८ कलेजको सम्वन्धन खारेज, पाउलान त पर्वत चम्डिल्लोका कृषकले राहत ?

1224
views

पर्वत । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरि दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रीपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको ८ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको हो ।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न सबै विश्वविद्यालयलाई निर्देशन दिनुका विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताउनु भयो ।

सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई कलेजहरुको सम्बन्धन नदिने निर्णय गर्नु परेको पनि स्पष्ट पारेको छ ।

यसैबीच कृषि शाखा क्याम्पस खोल्न सरकारद्वारा एलओआई (लेटर अफ ईन्टेण्ट) प्राप्त गरेको भन्दै जग्गा खरिद गरेर निर्माण कार्य थालनी गरेका कम्पनीबाट व्यक्तिगत जग्गाको क्षति पुगेका कृषकहरु भने मारमा परेका छन् ।

धौलागिरी ह्युमन रिर्सोस डेभलप्मेण्ट कम्पनि पर्वतले फलेवास नगरपालिका–३ नुवार चम्डिल्लोमा शाखा कृषि क्याम्पस खोल्ने भन्दै २५ रोपनी जग्गा खरिद गरी जग्गा सम्याउँदा व्यक्तिगत जग्गामा क्षति पुगेका किसानले न राहत न क्याम्पस पाईने भन्दै शंका व्यक्त गरेका छन् ।

कम्पनीले यहि फागुनमा जग्गा सम्याउँदा पाँचसयमुरी धान उत्पादन हुने खेतको सिंचाई भत्किनुको साथै व्यक्तिको नाउँमा रहेको जग्गामा पहिरोले क्षतविक्षत बनाएको थियो । सो ठाउँमा जग्गा सम्याउने क्रममा खानेपानी र बाटोको समेत भत्किनुको साथै गाउँ नै पहिरोको जोखिममा परेको स्थानीयले बताएका थिए ।