उत्तर र दक्षिण कोरियाबीचको सम्मेलन सेप्टेम्बरमा

791
views

काठमाडौ । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको वार्ताका क्रममा यस्तो सहमति भएको दुवै पक्षबाट जारी संयुक्त वक्तव्यमा उल्लेख छ । उत्तर कोरियाको राजधानी प्योङयाङमा सम्मेलन हुनेछ ।

सम्मेलनको मिति भने तोकिएको छैन । हाललाई उक्त सम्मेलन गर्ने भन्ने सहमति मात्र भएको वक्तव्यमा उल्लेख छ । दुई कोरियाका उच्च अधिकारीबीच कोरियाली शान्ति गाउँ पानमुनजोममा भएको सो बैठक पनि सौहार्द भएको सोही संयुक्त विज्ञप्तिमा बताइएको छ ।

दशकपछिको भ्रमण
दक्षिण कोरियाली राष्ट्रपतिले प्योङयाङको भ्रमण झन्डै एक दशकपछि गर्न लागेका हुन् । सन् २००७ मा सम्बन्ध सुधारकै लागि वार्ता गर्न तत्कालीन राष्ट्रपति रोह मु हुयन प्योङयाङ गएका थिए । उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि दक्षिण कोरियाले लगाएको नाकाबन्दी अझै हटेको छैन ।

यद्यपि, यी दुई कोरियाबीचको सम्बन्धमा भने पछिल्लो समयमा निकै सुधार आएको छ । त्यसैगरी, उत्तर कोरियाको निशस्त्रीकरण कार्यमा पनि केही प्रगति भएको बताइएको छ । उत्तरले आफूमाथिको आर्थिक नाकाबन्दी हटाउन दक्षिण कोरिया र अमेरिकालाई पनि बारम्बार आग्रह गर्दै आएको छ ।
सेप्टेम्बरमा सम्मेलन गरेर उत्तर कोरियाले अमेरिकासँगको पछिल्लो उच्चस्तरीय वार्तापछि प्रगति भएको सन्देश दिन खोजेको एसियन इन्स्टिच्युट अफ पोलिसी स्टडिजका विश्लेषक गो म्योङ हुनले बताए । ‘दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तरसँगको सम्बन्ध विकास गर्ने चाहना त राख्नुभएको छ, तर पनि अमेरिकासँग उत्तर कोरियाको सम्बन्धमा सुुधार नआउँदासम्म सो सम्भव छैन,’ एएफपीसँग उनले भनेका छन् ।

अप्रिल महिनामा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको उच्चस्तरीय बैठकका क्रममा पनि सेप्टेम्बरसम्ममा उत्तर कोरियाको राजधानीमा द्विपक्षीय सम्मेलन गर्ने सहमति भएको थियो । सोही सहमतिबमोजिम दुई देशका उच्च अधिकारीबीच भएको पछिल्लो भेटपछि सेप्टेम्बरमा उक्त सम्मेलन निर्णय गरिएको हो । उक्त सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको जानकारी दक्षिण कोरियाका राष्ट्रपति मुनले दिइसकेका छन् । यसअघि गत जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको उच्चस्तरीय भेटवार्तापछि उत्तर कोरियाले निशस्त्रीकरणका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताइएको छ । एजेन्सी