नेकपाका प्रवक्ता विश्वकर्मा दोस्रोपटक अदालतबाटै पक्राउ

893
views

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई बिहीबार दोस्रोपटक अदालत परिसरबाटै पक्राउ गरेको छ ।

सर्वोच्चको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो । नेकपाले भोजपुरमा गराएको बम विष्फोटको घटनामा समेत संलग्न भएकाले विश्वकर्मालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार विश्वकर्मालाई भोजपुर लगेर हिरासतमा राखिनेछ र त्यहीँ नै मुद्दाको प्रक्रिया अघि बढाइनेछ । यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो ।

रिहा लगत्तै प्रहरीले विश्वकर्मालाई अदालत परिसरबाटै पक्राउ गरी काभ्रेको एक उद्योगमा तोडफोड गरेको घटनामा संलग्न भएको अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाएको थियो । रिपोर्टर्स नेपाल