७५३ वटै स्थानीय तहको कर अध्ययनमा वित्त आयोग

827
views

काठमाडौं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध आइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहमा करको प्रकृति अध्ययन सुरु गरेको छ ।

‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेका आयोगका उपसचिव नमराज घिमिरेले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय तहले प्रस्ताव गरेका कर र गैर–करका क्षेत्र र दरहरूको अध्ययन अघि बढाइएको हो । स्थानीय तहसहित प्रदेश र संघका पनि कर विवरणमाथि अध्ययन अघि बढाउने आयोगले उल्लेख गरेको छ ।

कर विवाद समाधानका लागि भदौ १ गते सरकारले २ वटा समिति गठन गरिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र आयोगका सचिव बैकुण्ठ अर्याल सदस्य रहेको समिति गठन गरिएको हो । समितिले कर विवाद समाधानका लागि सरकारलाई सुझाव दिनेछ ।

यसअघि गत २९ साउनमा संसदको अर्थ समितिले तीनै तहका सरकारले लगाएका करका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि निर्देशन दिएको थियो ।

नेपालको संविधानमा संघ, प्रदेश र स्थानीय सरकारको खर्च र राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने काम, कर्तव्य र अधिकार आयोगलाई दिने व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा पनि आयोगले तीनै तहका सरकारले लगाउने करका सम्बन्धमा आवश्यक सुझाव दिने व्यवस्था छ ।