चाकु जलविद्युत् पुसभित्रै विद्युत् उत्पादन हुने

768
views

सिन्धुपाल्चोक, भदौ– १९  निजी लगानीबाट निर्माणाधीन २२ दशमलव २ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना पुसभित्रै विद्युत् उत्पादन हुने भएको छ ।

जलविद्युत् आयोजनाको सुरुङको आइतबार ब्रेकथ्रु भएपछि निर्माण कम्पनीले पुसभित्र विद्युत् उत्पादन गर्न सकिने मार्गप्रशस्त भएको जनाएको हो ।
पहरा, भीर र कडा चट्टानले बनेको संरचनामा आयोजानको २ हजार ९ सय मिटरको सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाको निर्माण कार्य २०७१ साउनमा सुरु भएको थियो । पहिरो र भूकम्पलगायतको कारणले निर्माणमा ढिलाइ भएको हो ।
भोटेकोसी गाउँपालिकाको फुलपिङकट्टीस्थित चन्द्रखुमा बाँध निर्माण गरी ८ सय १५ मिटर हेडबाट पानी प्रवेश गराई विद्युत् उत्पादन गरिनेछ । शिवश्री हाइड्रोपावरले निर्माण गरिरहेको आयोजानको प्रतिमेगावाट लागत करिब १८ करोड पर्ने अनुमान छ ।
कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजुका अनुसार प्राकृतिक प्रकोपका कारण निर्माणमा ढिलाइ भएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ र कार्यकारी अध्यक्ष कसजुले विस्फोटको स्विच थिचेर ब्रेकथ्रु गरेका थिए ।
आयोजनाबाट करिब २२ किमि पश्चिम सुनकोसी विद्युत् केन्द्रमा रहेको लामोसाँघुस्थित राष्ट्रिय ग्रिडमा जोडिनेछ । ०६७ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको थियो । तोकिएको समयमा निर्माण पूरा गर्न नसक्दा सुरुको इस्टिमेटभन्दा प्रतिमेगावाट करिब ३ करोडको लागत वृद्धि भएको छ ।
तिब्बतको सीमा क्षेत्र नजिकै रहेको साविक फुलपिङकट्टी र मार्मिन गाविस (हाल भोटेकोसी गाउँपालिका) को चाकु खोलाको पानी उपयोग निर्माणाधीन आयोजनामा सिटिजन इन्टरनेलिन बैंकको नेतृत्वमा १२ वटा अन्य बैंकले ७० प्रतिशत लगानी गरेका छन् । आयोजनामा ३० प्रतिशत स्थानीयको संस्थापक सेयर रहेको छ ।
आयोजनाले स्थानीय र सर्वसाधारणका लागि भविष्यमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी छ । जारी सेयरमध्ये १० प्रतिशत स्थानीय ले पाउनेछन् ।