प्रचण्डलार्इ भारत र चीनको  निमन्त्रणा

1149
views

काठमाडौं, भदौ २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई देशको औपचारिक निमन्त्रणामा भारत र चीनको भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ ।

दुवै देशका सरकार प्रमुखले आफूलाई भ्रमणको निमन्त्रणा दिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले दुई छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारका लागि आफ्नो भ्रमण भइरहेको दावी गर्नुभयो ।
भारत र चीन भ्रमणको पूर्व सन्ध्यामा आफ्नो निवास मंगलवार पत्रकारसँग कुरा गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको समेत बताउनुभयो ।
दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ, उहाँले भन्नुभयो, दुवै देशसँग आर्थिक विकासका मोडेलमा कुराकानी हुनेछ ।’
अध्यक्ष प्रचण्ड भदौ २१ गतदेखि २४ गतेसम्म भारतको भ्रमण गर्नुहुनेछ भने असोज १ गतेदेखि एक हप्तासम्म चीनको भ्रमण गर्ने उहाँको नीजि सचिवालयले जानकारी दिएको छ ।

जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने समेत बताउनुभयो । सरकारसँग आम जनताले राखेको अपेक्षा पूरा गर्न र सरकारको भूमिका र संचरनाका बारेमा पार्टीभित्र छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हिजो संघीयता, समानुपातिक समावेशी लगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ ।”
पार्टीभित्र भइरहेको छलफलबाट प्राप्त निष्कर्षलाई सरकारको प्रभावकारितामा सहयोग पुर्याउन ठोस कदम चालिने बताउँदै उहाँले सरकारको विषयलाई लिएर पार्टी निरन्तर छलफलमा रहेको बताउनुभयो ।
तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलबाट प्रतिवेदन प्राप्त भसकेको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति र सचिवालय बैठकले यसवारे टुङ्गो लगाउने बताउनुभयो ।
तल्लो समितिमा एकीकरणको समस्या छ भन्ने कुरा बाहिर आइरहेको छ त्यो गलत हो, उहाँले भन्नुभयो, त्यहाँ पनि कुनै समस्या छैन । उहाँले प्रतिवेदनमाथि छलफल भइरहेको र भदौ भित्रमा सबै टुगो लाग्ने समेत जानकारी दिनुभयो ।