निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धान कमजोर

809
views

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४२ दिन पुगिसक्यो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको झण्डै डेढ महिना बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् ।

प्रहरी अनुसन्धानमा जति ढिलो हुँदै गएको छ, पीडित परिवार र स्थानीयमा विभिन्न आशंका बढ्न थालेको छ । यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुनस् प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।
घटना भएकै दिनदेखि सदरमुकाम महेन्द्रनगरदेखि गाउँघरका चोक र घरघरमा निर्मला हत्याकै चर्चा हुने गरेको छ । पीडित परिवारदेखि जनप्रतिनिधि र सर्वसाधारणलेसमेत घट्नाको अनुसन्धानलाई निकै चासोको साथ लिएका छन् । पीडित परिवार अझै पनि घट्नाको वास्तविकता बाहिर आउनेमा विश्वस्त हुन सकेको छैन् । भेट्न आउने मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुसमक्ष उनीहरुले फेरी पुरानै तरिकाको अनुसन्धान हुने हो कि भनेर आशंका व्यक्त गरिरहेका छन् ।

‘घटना भएको डेढ महिनासम्म प्रहरी अनुसन्धानमै छौं भनिरहेको छ,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘फेरी पनि पहिले सार्वजनिक गरिएकालाई नै दोषी देखाउने खेल भइरहेको छ किरु’ उनले अहिले पनि प्रहरीले अनुसन्धानमा खासै प्रगति नभएको भनिरहेकाले शंका बढेको बताइन् ।

के भन्छन् जनप्रतिनिधिहरु ?
जनप्रतिनिधिहरुले पनि अनुसन्धानको सत्यतथ्यका साथै छिटो छरितो हुनुपर्ने माग गरेका छन् । उनीहरुले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा कुनै पनि कमजोरी हुन नहुने भन्दै प्रहरी प्रशासनलाई सचेत गरेका छन् ।

‘अनुसन्धानमा भइरहेको ढिलाईले जनतामा निराशा बढेको छ,’ कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले भने, ‘चाँडो अनुसन्धान गरेर वास्तविक अपराधी सार्वजनिक गरिनुपर्छ ।’ उनले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँगसमेत भेटेर घटनाको अनुसन्धान चाँडो गर्न आग्रह गरिएको बताए । ‘अध्यक्ष प्रचण्डले मैरै सामुन्ने गृहमन्त्रीलाई बोलाएर निर्देशन दिनुभएको छ,’ उनले भने ।

‘अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सघाउनुपर्ने सबैको दायित्व हो,’ कञ्चनपुर क्षेत्र नं। ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा। दीपक प्रकाश भट्टले भने, ‘अनुसन्धानमा सघाउनुका साथै कमिकमजोरी औंल्याउने काम पनि गरिराख्नु पर्छ ।’ उनले कञ्चनपुर प्रहरीसँगै उच्चस्तरीय छानबिन समितिलेसमेत काम गरिरहेकाले तोकिएको समयावधिसम्म काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

‘यो घटनाले पुरै देशको ध्यान तानेको छ,’ सांसद भट्टले भने, ‘आन्दोलनमा उठेका प्रश्नलाईसमेत सम्बोधन हुनेगरी सरकारले उच्चस्तरीय टोली पठाएको छ । टोलीको प्रतिवेदनमा पनि घटनाबारे कुरा आउला । अहिलेको अवस्था भनेको छानविन टोलीको प्रतिवेदन र प्रहरी अनुसन्धानलाई पर्खनु हो ।’

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सबुत प्रमाणसहित वास्तविक दोषी चांँडो पत्ता लगाउनुपर्ने बताए । ‘प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘अनुसन्धानका नाममा निर्दोष मान्छे फस्नु हँुदैन र दोषी उम्किनु हुँदैन ।’ उनले प्रहरीले गरिरहेको अनुसन्धानमा स्थानीयले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लिराज बिष्ट नेतृत्वको टोलीले घटनाको २४औं दिन भदौ ४ गते घटनाको मुख्य अभियुक्तका रुपमा दिलिपसिंह बिष्टलाइ सार्वजनिक गरेपछि आन्दोलन चर्केको हो । प्रहरीले मानसिकरुपले अस्वस्थ बिष्टलाइ पक्राउ गरी वास्तविक अपराधीलाई उम्काउन खोजेको स्थानीयले आरोप लगाउँदै आन्दोलन झनै चर्काएका थिए । अनुसन्धानकै क्रममा दिलिप बिष्टलाई पक्राउ गर्नुपूर्व प्रहरीले घटनास्थल आसपास बसोवास गर्ने निर्दोष ब्यक्तिहरुलाई पक्राउ गर्ने र कतिपयलाई प्रहरीले यातनासमेत दिन थालेपछि कञ्चनपुर प्रहरी बिरुद्ध जनआक्रोश चर्केको हो ।

अनुसन्धानमै छौं – प्रहरी
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयले हालसम्म खासै प्रगति नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धान चलिरहेपनि प्रगति हुन नसकेको बताए । ‘हामी अनुसन्धानमै छौं, तत्काल केहि भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘विगतका भन्दा अनुसन्धान पनि अलि सहज बन्दै गएको छ ।’ उनले भदौ ७ र ८ को घटनापछि अनुसन्धान गर्न केहि असहज भएपनि अवस्था सामान्य बन्दै गएको बताए ।

‘अहिले पनि सुचना पाउन निकै समस्या भईरहेको छ,’ एसपी कडायतले भने, ‘घट्नास्थल, पीडित वा बम परिवारको घरमा जांँदा भीड मात्रै पछि लाग्छ ।’ उनले स्थानीयले शंका गरेका बम दिदी बहिनी रोशनी र बबिताको बयान लिने काम सकिएको बताए । स्थानीयको दबाबपछि भदौ ७ मा उनीहरुलाई पक्राउ गरी पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाण्डौ लगिएको छ । उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको एसपी कडायतले बताए । कान्तिपुरबाट