उदाहरणीय ठेकेदारः जसले डेढ वर्षअघि नै बनाए एक अर्बका दुई पुल

694
views

काठमाडौं । पप्पु कन्ट्रक्सनसहितका निर्माण कम्पनीहरुले एउटा पुल सम्झौताको आठ वर्षमा पनि नबनाइरहेका बेला सिन्धुलीमा दुईवटा पुल सरकारले दिएको समयावधि भन्दा डेढ वर्षअघि नै पुरा भएका छन् । सिन्धु्लीस्थित मरिण खोला र कमला खोलामाथिका दुई पक्की पुल निर्माण कम्पनीहरु कालिका, तुदी, रसुवा जेभीले सम्झौता भएको समय भन्दा डेढ वर्षअघि नै निर्माण पुरा गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।

यी मध्ये सिन्धुलीको मरिणगाउपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार उद्घाटन गरिएको छ । यो पुलको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच बुधवार गरेका छन् ।

यो पुलको उद्घाटनका क्रमममा बोल्दै अध्यक्ष दाहालले मरिण क्षेत्रकै समृद्धिको ढोका खोलेको पुल निर्माण तोकिएको समय भन्दा डेढ वर्षअघि नै सकिएकोमा हर्ष व्यक्त गरे ।

अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्ने कुरालाई यस पुल निर्माणमा संलग्न कम्पननीले पाठ सिकाएकोे बताए । पुल उद्घाटनका क्रममा दाहालले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको थालनी भएको पनि जिकिर गरे ।

सम्झौता भन्दा १५ महिना अगाडि रातु पुल निर्माण सम्पन्न
दाहाल प्रधानमन्त्री भएका बेला २०७३ मंसिर १२ गते उनैले यो पुलको शिलान्यास गरेका थिए । यो पुलको उद्घाटनसमेत उनैले गरेका छन् । प्रचण्डले समय अगावै पुल निर्माण गरि उदाहरण प्रस्तुत गर्ने ठेकेदार कम्पनी, कर्मचारी र स्थानीयबासीलाई विशेष कार्यकम गरेर सम्मान गर्ने समेत बताए । कालिका, तुदी, रसुवा जेभीले चारसय मिटर लामो पुल समयावधि अघि नै निर्माण सम्पन्न गरेको हो । ४९ करोड १४ लाख रुपैयाँको लागतको पुलको निर्माण सम्पन्न गर्ने अवधि २०७६ पुस २८ गतेसम्म रहेको थियो ।

त्यही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाच वर्ष भित्रमा एक हजार पक्की पुल र १० हजार किलोमीटर कालोपत्र सडक निर्माण गर्ने उद्घोष गरे । अन्नपूर्णपोष्टबाट