पाइपबाट आउन छाड्यो ग्यास, उपभोक्ता सिलिन्डरमै फर्किए

595
views

काठमाडौं । ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए ।

तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत १७ भदौदेखि स्थानीयवासीले फेरि काँधमा सिलिन्डर बोकेर डिलरसम्म पुग्नुपरेको छ ।

गौसदनमा स्थापना गरिएको प्लान्ट २ सय घनमिटरको हो । यहाँबाट निकालिएको ग्यास पाइपबाट स्थानीयलाई वितरण गर्न थालिएको थियो । सुरुसुरुमा त उपभोक्तालाई निकै सहज भयो । तर, आधिकारिक जानकारी नपाई ग्यास आउन बन्द भएपछि उनीहरू अलमलमा परे । सोधखोज गर्दै स्थानीय उपभोक्ता जागेश्वर यादव प्लान्ट पुगे । उनलाई भनियो– प्लान्ट स्तरोन्नति गरेर थप ४५ घरलाई पनि ग्यास बाँड्ने तयारी भइरहेकाले अहिले रोकिएको हो । तर, त्यो सत्य थिएन ।

‘ग्यासको सप्लाई किन रोकियो भनेर सोध्न जाँदा एकैचोटि ८० घरलाई नै दिने तयारी भइरहेकाले केही दिनका लागि रोकिएको भनेर जवाफ दिए,’ स्थानीय उपभोक्ता जागेश्वर यादवले भने, ‘पछि थाहा भयो, वितरण मेसिनमा समस्या आएकाले रोकिएको रहेछ ।’ मंगलबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले प्लान्टको ग्यास नआएपछि १० दिनदेखि थन्क्याइएको सिलिन्डर निकालेर पुनः प्रयोग गर्न थालेको बताए ।

उपभोक्ता शोभाकान्त यादव र सीता दाहालले पनि थन्क्याएको सिलिन्डर निकालेका छन् । प्रधानमन्त्रीले प्लान्ट उद्घाटन गरेर गोबर ग्यास वितरण गरेपछि खुसी भएका उनीहरू महिनादिन नपुग्दै गुनासो गर्न बाध्य भएका छन् । दुवैले आपूर्ति रोकिएपछि पुनः एलपिजी सिलिन्डरकै ग्यास प्रयोग गर्न थालेको बताए ।

लामो समय टिकेन स्थानीयको खुसी
आफ्नै ठाउँमा उत्पादन गरेको गोबर ग्यास घरघरमा पाइपमार्फत आएपछि गद्गद् भएका उपभोक्ता दिगो व्यवस्थापन नभएसम्म गौशालाबाट आएको ग्यासमा भर पर्न नसकिने बताउन थालेका छन् ।

उपभोक्ता जागेश्वर यादवका अनुसार गोबर प्लान्टको ग्यास सिलिन्डरको ग्यासभन्दा बढी उपयोगी थियो । तर, दिगो हुँदैन कि भन्ने आशंका बढेपछि उनको मन डगमगाएको छ । उद्घाटन गर्ने हतारोले दिगो व्यवस्थापनविनै ग्यास वितरण थालिएकाले अहिले समस्या आएको अधिकांश उपभोक्ता बताउँछन् । नयाँपत्रिकाबाट