इन्फ्लुएन्जाबाट सप्तरीमा तीनको मृत्यु

809
views

सप्तरी, २८ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिकामा इन्फ्लुएन्जा कारण तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नम्बर–७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत र वडा नम्बर–९ रूपनगरका १४ वर्षीय आमोदकुमार राम रहेका छन् ।

तीनैजनालाई उच्च ज्वरो आएको र केही दिनमै नाक र मुखबाट रगत आएर मृत्यु भएको स्थानीयले जनाएका छन् । सो क्षेत्रमा अहिले सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को टोलीले रगतको नमुना संकलन गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख जनस्वास्थ्य अधिकृत निरञ्जनप्रसाद यादवका अनुसार सो क्षेत्रमा बिरामीको रगतको नमुना संकलन गरिएको छ । इडिसिडी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्य कार्यालयसहितको टोलीले रगतको नमुना संकलन गरेको हो ।

उच्च ज्वरो आएको केही दिनमै फरक–फरक ठाउँका, तर उस्तै उमेर समूहका किशोरको मृत्युको कारण खोज्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात चिकित्सकको टोलीले बिरामीको जाँच गरेर फर्किएको छ । इडिसिडीका डा. प्रकाशप्रसाद साह, ल्याब टेक्नेसियन डबल बिसी, जनस्वास्थ्य अधिकृत रेशम लामिछाने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लोकनाथ भट्टराई, विश्व स्वास्थ्य संगठनकी डा. सोनिया भगत, जनस्वाथ्य अधिकृत यादवसहित, प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले रगतको नमुना संकलन र बिरामीको जाँच गरेको हो ।

टोलीले प्राथमिक स्वास्थ्य केन्द्रमा तीन दिन निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । २६ भदौसम्म सञ्चालित शिविरमा कञ्चनरूप वडा नम्बर ३, ७ र ९ का पाँचदेखि २० वर्ष उमेर समूहका एक हजार एक सय २२ बालबालिका तथा किशोर–किशोरीको जाँच गरिएको जनस्वास्थ्य अधिकृत यादवले उल्लेख गरे ।

बैमौसमी ज्वरोलाई बेवास्ता नगर्न आग्रह
कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे । ‘सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने । त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, हावा आवतजावत हुने खुला ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र मास्क लगाएर हिँड्ने गर्नुपर्छ ।

एकजनामा एचवानएनवान, १० जनामा एचथ्रीएनटु
स्वास्थ्य शिविरमा रगतको नमुना संकलन गरिएकामध्ये एकजनामा भाइरल इन्फ्लुएन्जा एचवानएनवान र १० जनामा एचथ्रीएनटु पोजिटिभ पाइएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए । प्रयोगशालाको विस्तृत प्रतिवेदन बिहीबारसम्म आउने गुप्ताले बताए । एचवानएनवान पोजिटिभ भेटिएका बिरामीलाई पनि सामान्य इन्फ्लुएन्जा भएको उनको भनाइ छ ।

आकस्मिक उपचार समिति गठन
उपचारका लागि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपका डा. सञ्जीव झाको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समिति २४सै घन्टा खटिनेछ । समितिमा डा. राजेशकुमार मण्डल, डा. सञ्जयकुमार साह, वीरेन्द्रकुमार साहलगायत छन् । नयाँ पत्रिकाबाट