संविधान दिवसः प्रधानमन्त्री विरुद्ध उपप्रधानमन्त्री यादव

1305
views

काठमाडौं । संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।

सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् ।

सरकारको नेतृत्व गरेका यी दुई दल भने विरोधस्वरूप कालो दिन घोषणा गरेर अघि बढेका छन् । प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ३ असोजमा मधेसमा विरोध कार्यक्रम गर्ने भएपछि त्यहाँ संविधान दिवस अन्योलमा परेको छ । संविधान संशोधनको माग गर्दै विगतमा आन्दोलन गर्दै आएका दुवै दलले अहिले पनि दबाब दिँदै आएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ३ असोजमा संविधान दिवस मनाउने कुनै निर्णय प्रदेश सरकारले नगरेको बताए । फोरम नेपालका उपाध्यक्षसमेत रहेका राउतले पार्टीले आयोजना गर्ने विरोधका कार्यक्रममा सहभागी हुने कि नहुने भन्ने प्रश्नमा ‘कुनै कमेन्ट नगर्ने’ बताए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले पार्टीले आयोजना गर्ने विरोधका कार्यक्रममा सहभागी हुने बताइन् । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपालको गठबन्धन सरकार छ । तर दुवै दलले संविधान दिवसको सट्टा विरोधमा जुट्ने तयारीमा जुटेका छन् ।

‘पार्टीले आयोजना गर्ने विरोधका कार्यक्रममा सहभागी हुन्छौं, हामीले विरोध गर्नु भनेको त्रुटिपूर्ण संविधान सच्याउनका लागि हो,’ यादवले भनिन्, ‘संविधान संशोधन नहुन्जेलसम्म हामी संविधान दिवस नभई विरोध दिवसका साथै विगतका आन्दोलनलाई निरन्तरता दिनेछौं ।’

फोरम नेपाल प्रदेश २ का कोषाध्यक्षसमेत रहेकी राज्यमन्त्री यादवले विगत लामो समयदेखि आन्दोलन एवं दबाबमूलक कार्यक्रम गर्दै संशोधन गर्न भनिए पनि संविधान संशोधन नभएकाले विरोधका कार्यक्रम सरकारमा रहे पनि नरहे पनि जारी नै रहने बताइन् ।
प्रदेश सरकारमा सहभागी भएको र संघीय सरकारलाई समर्थन गरेको राजपा नेपालले ३ असोजमा विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसविरोधी संविधान जारी भएको भन्दै विरोध दिवस मनाउने राजपा नेपालले निर्णय गरेको छ ।

फोरम नेपाल संघीय सरकारमा सहभागी छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् । फोरमकै अर्का नेता इस्तयाक राई सहरी तथा विकास मन्त्री रहेका छन् । तर फोरमले नै प्रदेश २ मा विरोधका कार्यक्रम गर्ने जनाएको छ । राजधानीबाट