किशोरी हत्या प्रकरणः महेन्द्रनगरमा आन्दोलन सुरु

1191
views

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको छ । महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन विहीबारदेखि शुरु गरेको हो । भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो ।

उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि रोकिएको आन्दोलन समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबावमुलक आन्दोलनका कार्यक्रम सुरु गरिएको दबाब मुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् ।

उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निर्मलाका हत्यारा पक्राउ नपर्दासम्म दबावमुलक कार्यक्रम गरिरहने अधिकारकर्मीले अडान लिएका छन् ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरले समेत बिहीवारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ । सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।

नेविसंघले निर्मला हत्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्चाइनुपर्ने, घाइतेहरुको उपचारमा ध्यान दिइनुपर्ने, दिलीपसिंह विष्टलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायतका मागसमेत राखेको छ ।

दबाब सिर्जना गर्नकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मी काठमाडौँ पुगेका छन् । काठमाडौँमा दबाबमुलक कार्यक्रम अन्र्तगत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाज लगायतसँग भेट गर्ने कार्यक्रम छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन । प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनी पनि रिहा भइसकेका छन् ।