देजमोले संविधान जलाए

2371
views

नवलपरासी, ३ असोज । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले आज संविधानको विरोध गर्दै नेपालको संविधान २०७२ जलाएको छ ।जनगणतन्त्र विरोधी संविधान भन्दै देजमो नवलपुरले आज कावासोतीमा संविधानको प्रतिक जलाएका हुन् ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी लगायतले नेपालको संविधान २०७२ ले जनताको भावना बोक्न नसकेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याका घटनालाई तोडमोड गरेर निर्दोषलाई फसाउंन र दोषीलाई उन्मुक्ति दिने गरी सरकार अघि बढेको भन्दै त्यसको विरोध गरेका थिए । साथै दोषीलाई कारवाही गरी निर्मला पन्त र उनको परिवारलाई न्याय दिनु पर्नेमा पनि जोड दिएका थिए । कार्यक्रम शोभा जिसीको सञ्चालनमा भएको थियो ।