सातवटै प्रदेशमा राय सुझाव लिंदै काँग्रेस

613
views

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातवटै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो ।

काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौँ र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ । समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई÷दुई जना सदस्य खटाएको छ ।

प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई खटाइएको छ ।

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव सङ्कलन गरिसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको छ ।