यौन दुर्व्यवहार आरोपः क्याभानोले एफबीआईको सामना गर्ने

753
views

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि आफूले मनोनयन गरेका ब्रेट क्याभानोमाथि लागेको यौन दुर्व्यवहारबारे संघीय जाँच ब्यूरोमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

यसअघि सिनेटको न्यायिक समितिले सर्वोच्च अदालतका लागि क्याभानोको मनोनयन अनुमोदन गर्न मतदान गरेको थियो ।

तर न्यायिक समितिले क्याभानोको नाम अनुमोदन गर्नुअघि रिपब्लिकन सांसदहरूले अनुसन्धान हुने भन्ने बुझाइमा मात्रै उक्त कदमको समर्थन गरेका थिए । फलस्वरूप क्याभानोलाई सिनेटको पूर्ण बैठकले अनुमोदन गर्ने प्रक्रिया एकसाताका लागि धकेलिएको छ ।

पुनरावेदन अदालतका न्यायाधीश क्याभानोले आफूविरुद्ध कम्तीमा तीन महिलाले लगाएको यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन् ।

गत बिहीवार न्यायिक समितिले क्याभानोलाई आरोप लगाउने महिला क्रिस्टिन ब्लाजे फोर्डको बयान सुनेको थियो । क्यालिफोर्नियामा मनोविज्ञानसम्बन्धी प्राध्यापक फोर्डले सन् १९८० को दशकमा आफूहरू किशोर उमेरमा हुँदा क्याभानोले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

न्यायाधीश क्याभानोले पनि बयान दिएका थिए। बयानका क्रममा उनले आफूमाथिको आरोप रुष्ट हुँदै अस्वीकार गरेका थिए । उनले डेमोक्र्याटसहरूले प्रक्रियालाई राजनीतिकरण गरेको र आफू र आफ्नो परिवारको नाममा हानी पुर्याउन खोजेको आरोप लगाएका छन् ।

आफ्नो कदमबारे घोषणा गर्दै ट्रम्पले भने, “मैले संघीय जाँच ब्यूरोलाई न्यायाधीश क्याभानोमाथिको आरोपमाथि पूरक अनुसन्धान गर्न निर्देशन दिएको छु । सिनेटले अनुरोध गरेकोले अबको जाँच सीमित हुनेछ र एकसाता भन्दा कम समयमा पूरा हुनुपर्नेछ ।“

यो जाँचबुझमा एफबीआइले विगतमा पूरा भइसकेको न्यायाधीशको पृष्ठभूमिबारे पुनस् जाँच गर्छ । यसको अर्थ पूराना साक्षीकोमा जाने वा नयाँसँग कुरा गर्ने हुनसक्छ ।

शुक्रबारको न्यायिक समितिको बैठकमा डेमोक्र्याट्सहरूको ३६ वर्षअगाडिको घटनाका साक्षी अर्थात् क्याभानोका साथी भनिएका मार्क जजलाई उपस्थित गराउने प्रयासलाई रिपब्लिकनहरूले विफल बनाएका थिए । बीबीसी